राष्ट्रियसभा सदस्य धमेन्द्र पासवानले सरकार गठन भएको सय दिन बितिसक्दा पनि मधेस प्रदेशमा अपराधका घटना नियन्त्रण हुन नसकेको बताएका छन्।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसबाट निर्वाचित पासवानले अपराधीहरू खुलेआम हिँडडुल गरिरहँदा पीडित भने लुकेर बस्न बाध्य भएको अवस्था चिन्ताजनक रहेको बताए। उनका अनुसार यस्तो अवस्थाले मधेसमा असुरक्षाको भावना झन् बढाएको छ। “सरकारको सय दिन पूरा भयो, तर मधेसमा अपराधका घटना घट्नुको सट्टा बढिरहेका छन्,” उनले भने, “अभियुक्तहरू निर्धक्क घुम्न पाउनु नै अपराध बढ्नुको मुख्य कारण हो।”
पासवानले सप्तरीको सुरुङ्गा नगरपालिका-३ की मञ्जु सदा हाल कृष्णसदन गाउँपालिकास्थित सेफ हाउसमा सुरक्षित बस्न बाध्य रहेको उल्लेख गर्दै मुख्य अभियुक्त भने अझै पक्राउ नपरी खुलेआम घुमिरहेको दाबी गरे। उनले सम्बन्धित निकायसँग अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।


















