प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावासी त्रसित भएको दाबी, स्पष्टिकरण दिन कांग्रेस सांसदको माग

नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले भारतीय पक्षबाट दबाब र मानसिक त्रास सामना गर्नुपरेको आरोप लगाएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकको प्रारम्भमा बोल्दै सांसद गच्छदारले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि सुस्ता, ठोरीलगायत सीमावर्ती क्षेत्रका स्थानीय प्रभावित भएको दाबी गरिन्। उनले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने माग गर्दै सभामुख डोलप्रसाद अर्यालसँग आवश्यक रुलिङ गर्न आग्रह गरिन्। गच्छदारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरेको आरोपसमेत लगाइन्। पाँच दिनको अल्टिमेटम र २५ हजार रुपैयाँको प्रलोभन देखाएर सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन खोजिएको भन्दै उनले त्यसलाई सरकारको अमानवीयताको पराकाष्ठा भएको टिप्पणी गरिन्। उनले भनिन्, “प्रधानमन्त्रीको हलुका बोलीका कारण आज सुस्ता र ठोरीका सोझा नेपाली सीमा पारिबाट चर्को दबाब र मानसिक त्रास झेल्न बाध्य छन्। संसदलाई बेवास्ता गर्ने यो आलटाल नीति कहिलेसम्म चल्छ? प्रधानमन्त्रीले संसदमा आएर स्पष्टिकरण दिनुपर्छ।”

सांसद गच्छदारले वर्तमान सरकारले गरिब तथा विपन्न नागरिकको समस्या समाधान गर्नुको सट्टा थप पीडा दिएको आरोप लगाउँदै यस्तो कार्यशैलीका कारण यसलाई जनमुखी सरकार भन्न नसकिने धारणा व्यक्त गरिन्।