सत्तारुढ दल रास्वपाका सांसद सन्तोष राजवंशीले खेतीको समयमा मल नपाएर किसानको बिचल्ली भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै किसानलाई मलको व्यवस्था गरिदिन माग गरे ।
‘म भात खान्छु । सरकारले के खान्छ ? मलाई लाग्छ सरकारले पनि भात खान्छ । मलाई त थाहा छ, त्यो भात कहाँबाट आउँछ । सरकारलाई त्यो कुरा थाहा छ कि छैन ? त्यो भात धानबाट आउँछ । त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ मल,’ उनले भने ।
कृषिप्रधान देशमा किसानको कहिलेसम्म बिचल्ली हुने भन्ने प्रश्न पनि सांसद राजवंशीको थियो ।
‘खाद्य सुरक्षासँग जोडिएको यो विषयमा सरकार अझ गम्भीर हुन आवश्यक छ । अन्नको भण्डार भनेर चिनिने पूर्वको झापा, मोरङ र सुनसरी, अहिले जम्मा २८ प्रतिशत मात्र रोपाइँ भएको छ । अझै ७२ प्रतिशत रोपाइँ बाँकी छ। कृषि मन्त्रालयको विशेष सूचना अनुसार दुई हप्ता पछि मल आउँदै छ । त्यो किसानको खेतबारीमा पुगोस्,’ उनले भने ।


















