ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उत्पादनसँगै विद्युतको आन्तरिक खपत बढाउन सरकार नीतिगत सुधारको तयारीमा रहेको बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले थपिँदै गएको विद्युत उत्पादन क्षमतालाई प्रभावकारी रूपमा उपयोग गर्न माग विस्तार र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए। उनले यसका लागि आवश्यक योजना बनाउन नियामक निकायलाई निर्देशन दिइएको जानकारी दिए। मन्त्री श्रेष्ठले विद्युत आपूर्तिलाई भरपर्दो बनाउन प्रसारण प्रणाली सुधार तथा बत्ती जाने समस्या समाधानका लागि सम्बन्धित निकायलाई सक्रिय हुन निर्देशन दिइएको बताए।
उनले नेपालले भारत र बङ्गलादेशपछि भविष्यमा म्यानमार र थाइल्यान्डजस्ता पूर्वी एसियाली बजारमा समेत विद्युत निर्यात गर्ने दीर्घकालीन लक्ष्यसहित काम गरिरहेको उल्लेख गरे।


















