गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग

आत्मदाह प्रयास गरेका पठाओ चालक गणेश नेपालीको मृत्यु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले निष्पक्ष छानबिन गर्न माग गरेका छन् । चार दिने चीन भ्रमणमा रहेका सिंहले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उपचारको क्रममा नेपालीको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।

सिंहले लेखेका छन्, ‘गणेश नेपालीलाई बचाउन गरिएको अथक प्रयासको बाबजुद उहाँको निधन भएको खबरले स्तब्ध बनाएको छ । उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गर्दछु। यस्तो दुःखद घटना फेरि नदोहोरियोस् भन्ने कामना गर्दै निष्पक्ष छानबिन होस् र सत्य सार्वजनिक होस्। राजनीति भन्दा माथि मानवता हो ।’

मुगु घर भएको २५ वर्षे नेपालीले हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङको विषयमा काठमाडौँ महानगरपालिकाका प्रहरी बलसँग विवाद हुँदा शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका थिए।