दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीर देउवाको लगानी रहेको कम्पनीमा २ करोड ६० लाख रुपैयाँ भुक्तान

 

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवापुत्र जयवीर देउवाको लगानी रहेको कम्पनीमा झन्डै साढे २ करोड रकम गएको पाइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विष्णु पौडेलसहित १४ जना व्यक्ति तथा कम्पनीविरुद्ध विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा यस्तो उल्लेख गरिएको हो । यो विषयमा थप छानबिन भइरहेको विभागको अभियोगपत्रमा उल्लेख छ ।

अभियोग पत्रमा जयवीरको लगानी रहेको स्कालर इन्टरनेशनल र डिजी हट नामक दुई कम्पनीमा २ करोड ६० लाख रुपैयाँ भुक्तान दिएको पाइएको भनिएको छ ।

‘प्रतिवादी दीपक भट्टले कसुरबाट प्राप्त रकम भुक्तानी गरेको हुनसक्ने देखिँदा त्यसतर्फको अनुसन्धानलाई निरन्तरता दिई कानुन बमोजिम गरिनेछ,’ अभियोग पत्रमा भनिएको छ ।

विभागले असार २२ मा पूर्व प्रधानमन्त्री देउवाका पुत्र जयवीरलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेको थियो । सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ तथा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भन्दै विभागले बुढानीलकण्ठस्थित उनको घरमा सूचना टाँस गरेको थियो ।

असार २३ मा म्यादभित्र नआए कानुन बमोजिम हुने भन्दै गोरखापत्रमा पनि सूचना प्रकाशन गरिएको थियो । तर अहिलेसम्म जयवीर विभागमा हाजिर भएका छैनन् ।