नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बदलिँदो प्रविधिमैत्री युगमा सांसदका स्वकीय सचिव सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग गर्न सक्ने व्यक्ति हुनुपर्ने बताएका छन्।
पार्टी कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वकीय सचिवलाई केवल व्यक्तिगत वा घरायसी सहयोगीका रूपमा होइन, संसदीय कामलाई प्रभावकारी बनाउने सहकर्मीका रूपमा हेर्नुपर्ने धारणा राखे। उनले स्वकीय सचिव छनोट गर्दा ‘सहयोगी खोज्ने कि कामलाई परिणाममुखी बनाउने सक्षम व्यक्ति रोज्ने’ भन्ने विषय नै सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गरे। “स्वकीय सचिव घरायसी सहयोगी होइन। संसदीय गतिविधि, अध्ययन, अनुसन्धान र कार्यसम्पादनमा योगदान दिन सक्ने व्यक्तिको छनोट हुनुपर्छ,” पोखरेलले भने।
उनका अनुसार अब सांसदहरूको कामलाई थप प्रभावकारी बनाउन सूचना प्रविधिमा दक्ष र एआईको उपयोग गर्न जान्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्ने समय आएको छ। “राजनीतिक रूपमा निष्ठावान र सुझबुझपूर्ण हुनु आफ्नो ठाउँमा छँदै छ। तर अब सूचना प्रविधिमा दक्षता भएको र एआईलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने व्यक्ति नै स्वकीय सचिवका लागि उपयुक्त हुन्छ,” उनले बताए।


















