नेपाली कांग्रेसका सभापति गगन थापाको तय गरिएको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। शनिबार भारत प्रस्थान गर्ने तयारी भए पनि भ्रमण आइतबारका लागि सारिएको थियो। तर आइतबार पनि उनी भारत नजाने निर्णयमा पुगेका छन्। थापा भारतको नयाँदिल्लीमा आयोजना गरिएको नेपाली कांग्रेस जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम थियो। भ्रमणको तयारी पूरा भइसकेको अवस्थामा उनले अन्तिम समयमा यात्रा स्थगित गरेका हुन्। कांग्रेसका प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमण तत्कालका लागि स्थगित भएको पुष्टि गरेका छन्। उनका अनुसार भ्रमण नयाँ मितिमा कहिले हुने भन्ने विषय भने अझै तय भएको छैन।
भ्रमण स्थगित हुनुको कारणबारे सोधिएको प्रश्नमा प्रवक्ता चालिसेले ‘नितान्त आन्तरिक र प्राविधिक कारण’ रहेको प्रतिक्रिया दिएका छन्। यद्यपि, यसबारे पार्टीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। यद्यपि, कांग्रेसभित्रको पछिल्लो आन्तरिक समीकरणलाई भ्रमण स्थगितसँग जोडेर पनि चर्चा भइरहेको छ। पार्टी स्रोतका अनुसार विदेशस्थित जनसम्पर्क समितिसँग सम्बन्धित विषय र आन्तरिक मतभेदका कारण भ्रमण प्रभावित भएको हुनसक्ने आकलन गरिएको छ।
पछिल्ला महिनाहरूमा कांग्रेसभित्र संस्थापन र इतर समूहबीच विभिन्न विषयमा मतभेद देखिँदै आएको छ। त्यसैबीच सभापति थापा र नेता पूर्णबहादुर खड्का नेतृत्वको पक्षले देशव्यापी संगठनात्मक अभियानलाई पनि निरन्तरता दिइरहेका छन्। यद्यपि, भ्रमण स्थगित हुनुको वास्तविक कारणबारे पार्टीले औपचारिक रूपमा कुनै थप विवरण दिएको छैन।




















