महिमा पन्त ‘मिस नेपाल २०२६’ की बलियो दाबेदार, ग्रान्ड फाइनलमा उपाधिको प्रतिस्पर्धा

काठमाडौं । गोरखाको पालुङटार नगरपालिका–१, बेलबासकी २० वर्षीया महिमा पन्त ‘मिस नेपाल २०२६’ को उपाधिका लागि बलियो प्रतिस्पर्धीका रूपमा उदाएकी छन्। आयोजक संस्था द हिडेन ट्रेजर ले सुरुमा छनोट गरेका २४ उत्कृष्ट प्रतिस्पर्धीमध्ये विभिन्न चरण पार गर्दै उनी ग्रान्ड फाइनलसम्म पुगेकी छन्।

प्रतियोगिताको ग्रान्ड फाइनल आगामी अगस्ट १, २०२६ (साउन १६ गते) ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ। फाइनलमा सहभागी प्रतिस्पर्धीमध्येबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोसमो र मिस नेपाल इन्टरनेशनल लगायतका उपाधिका विजेता छनोट गरिनेछ।

महिमाले आफ्नो आत्मविश्वास, प्रभावकारी व्यक्तित्व र सामाजिक सोचका कारण सुरुदेखि नै निर्णायक तथा दर्शकमाझ विशेष छाप छोड्न सफल भएकी छन्। प्रतियोगिताको ग्रान्ड फाइनल पनि उनले जित्ने धेरैको विश्वास छ।

विभिन्न तह पार गर्दै राष्ट्रिय मञ्चसम्मको यात्रा तय गरेकी महिमा पन्तले मिस नेपाललाई केवल सौन्दर्य प्रतियोगिताका रूपमा नभई महिला नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको अभियानका रूपमा लिएको बताएकी छन्। उनले महिला सशक्तीकरण, किशोरी तथा युवतीको शिक्षा, आत्मनिर्भरता, नेतृत्व विकास र समान अवसर सुनिश्चिततालाई आफ्नो प्रमुख सामाजिक एजेन्डा बनाएकी छन्। साथै, ग्रामीण क्षेत्रका महिलालाई शिक्षा, सीप र आत्मविश्वासमार्फत सक्षम बनाउने दीर्घकालीन लक्ष्य रहेको उनको भनाइ छ।

प्रतियोगिताको ग्रुमिङ सेसन, व्यक्तित्व विकास तालिम, सार्वजनिक प्रस्तुति तथा विभिन्न सामाजिक गतिविधिमा महिमाले देखाएको सक्रियता र परिपक्व प्रस्तुतिले उनी यस वर्षका सम्भावनायुक्त प्रतिस्पर्धीमध्ये एक रहेको चर्चा बढ्दो छ। पछिल्ला केही सातादेखि सार्वजनिक भएका कार्यक्रम तथा सामाजिक सञ्जालमा पनि महिमाप्रति सकारात्मक प्रतिक्रिया देखिएको छ। उनको सरल व्यक्तित्व, स्पष्ट अभिव्यक्ति, आत्मविश्वास र सामाजिक विषयप्रतिको संवेदनशील दृष्टिकोणले दर्शकको मन जित्दै गएको छ।

यस वर्षको मिस नेपालको प्रमुख नारा ‘टप अफ द वर्ल्ड’ राखिएको छ।

प्रतियोगी नम्बर १६ प्राप्त गरेकी महिमा पन्त अहिले महिला नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको अभियानको प्रतिनिधित्व गर्दै राष्ट्रिय मञ्चमा उभिएकी छन्। उनलाई जिताउन अनलाइन भोटिङसमेत खुला रहेकाले स्वदेश तथा विदेशमा रहेका सबैलाई अनलाइन भोटिङमार्फत सहयोग गर्न उनले अनुरोध गरेकी छन्।

उता, उनी गोरखावासी भएकाले गोरखाबाट राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगितामा पुगेकी महिमाले जिल्लाको गौरव बढाउने विश्वास व्यक्त गर्दै जिल्लावासीसमेत उनलाई भोटमार्फत जिताउन लागिपरेका छन्।