ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । आज बिहान १७ किलो र सिमल ताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि सडक बन्द भएको थियो ।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इञ्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुङ्गा र सिमलताल नजिक खसेको लेदोसहितको पहिरो पन्छाएर सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो । दुवै ठाउँमा तत्काल पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको थियो । क्रमश: सवारी चाप कम भएपछि दुवै ठाउँको पहिरो पूरै हटाएर अहिले ३:१५ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।


















