प्रधानमन्त्री वालेन्द्र शाहले अघिल्ला हप्ता निजीक्षेत्रका पदाधिकारी र प्रतिनिधिसँग तारन्तार छलफल गरे । त्यसबीचमा प्रधानमन्त्री शाहले आधा दर्जन बढी विभिन्न व्यवसायसँग सम्बन्धित संस्थाहरूका पदाधिकारी र प्रतिनिधिसँग व्यवसाय प्रवर्द्धनका विषयमा छलफल गरे ।
तर, देशको अर्थतन्त्रसँग जोडिएका ती महत्त्वपूर्ण छलफलमा प्रधानमन्त्री शाहले अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा. स्वर्णिम वाग्लेलाई पूरै बेवास्ता गरे । कतिसम्म भने प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई हटाउनका लागि आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग छलफलसमेत गरे । अन्तत: तत्कालका लागि डा. वाग्लेको पद जोगियो ।
आन्तरिक संघर्षपछि सहज बनेका अर्थमन्त्री वाग्लेले अब भने बजेट कार्यान्वयनको विषयमा उद्योगपतिसँग छलफल अगाडि बढाउने जमर्को गरेका छन् । त्यसका लागि अर्थमन्त्री वाग्लेले आज नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झण्डै तीन दर्जन उद्योगपतिलाई मन्त्रालयमा बोलाएका छन् । ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ नाम दिएको यो छलफल कार्यक्रम आज दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हुने वाग्लेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार छलफलमा अर्थमन्त्री वाग्लेसहित अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू पनि सहभागी हुने छन् ।


















