नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विधान संशोधन गर्दै केन्द्रीय विभागसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ। अब विधानमा विभागको निश्चित संख्या उल्लेख नहुने भएको छ। संशोधित व्यवस्थाअनुसार केन्द्रमा ‘तोकिएबमोजिमका केन्द्रीय विभाग’ गठन हुनेछन्।
यसअघि विधानमा २८ वटा विभाग अनिवार्य रहने व्यवस्था थियो। साथै, प्रत्येक विभागमा बढीमा २५ जना सदस्य रहने व्यवस्था गरिएको छ, जबकि पहिले ५१ जनासम्म सदस्य राख्न सकिन्थ्यो। नयाँ विधानले विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्य नियुक्त गर्ने अधिकार केन्द्रीय सभापतिलाई दिएको छ। उपप्रमुख, सचिव र सदस्यका लागि क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था भए पनि विभाग प्रमुखको योग्यता भने खुलाइएको छैन।
यस्तै, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नियुक्त गर्न सकिने सदस्य संख्या ५१ बाट बढाएर ६१ पुर्याइएको छ।


















