पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेकी छन् ।
आज तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा एमाले कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र भएकाले विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नुपर्ने बताइन् । उनले अफवाह, घृणा र विभाजनकारी गतिविधिबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
भण्डारीले तुल्सीलाल अमात्यको सिद्धान्तनिष्ठ राजनीति, त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरिन् ।


















