काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । रौतहटबाट काठमाडौँ आउँदै गरेको प्रदेश–०५–००१ज–०००६ नम्बरको सुमोबाट प्रहरीले लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित बाराको निजगढ नगरपालिका–१ घर भएका ३१ वर्षीय सुमन भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले जानकारी दिए ।
प्रहरीले आरोपीको साथबाट २३६ ट्याब्लेट नाइट्राजेपाम र २६९० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । सोमबार पक्राउ परेका आरोपीबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । आरोपी विरुद्ध यसअघि सार्वजनिक अपराध, ज्यानमार्ने उद्योग र अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भएको भेटिएको छ ।


















