यहाँ त धेरै सङ्घ–संस्थामा आबद्ध हुनुहुन्छ, धेरै पुस्तकहरू पनि लेख्नुभएको छ। अहिले कहाँ–कहाँ सक्रिय हुनुहुन्छ?
म धार्मिक आचार्य र अधिवक्ता दुवै भएकाले विभिन्न क्षेत्रमा सक्रिय छु। मेरो नेपाल गृहस्थ धर्म सेवा सदन नामक संस्था पनि छ। साथै, म गोंगबु आवास क्षेत्रस्थित कार्यविनायक गणेश मन्दिरको पण्डित तथा आचार्यका रूपमा सेवा गरिरहेको छु। धार्मिक अनुष्ठानहरू सञ्चालन गरिरहेको छु। बिहान १० बजेदेखि ४ बजेसम्म कानुन व्यवसायमा संलग्न हुन्छु। त्यसबाहेक फुर्सदको समयमा लेखनकार्य गर्छु र समाजसेवाका गतिविधिलाई पनि निरन्तरता दिइरहेको छु।
तपाईं समाजसँग प्रत्यक्ष जोडिनुभएको धार्मिक गुरु तथा आचार्य हुनुहुन्छ। पछिल्लो समय नेपालको पूर्वी तराईको सुनसरी जिल्लामा दुई समुदायबीच असमझदारी र द्वन्द्वको अवस्था देखियो। यसलाई कसरी लिनुभएको छ?
मैले यस घटनालाई अत्यन्त दुःखद रूपमा लिएको छु। यस्तो हुनु हुँदैन। हाम्रो वैदिक सनातन धर्म, संस्कृति र पौराणिक मान्यताअनुसार धार्मिक दङ्गा वा हिंसा स्वीकार्य छैन। वेदले “मा हिंस्यात् सर्वभूतानि“ अर्थात् कुनै पनि प्राणीमाथि हिंसा गर्नु हुँदैन भन्ने शिक्षा दिएको छ। एक जाति र अर्को जातिबीच, एक समुदाय र अर्को समुदायबीच झगडा हुनु हुँदैन; सबै मिलेर बस्नुपर्छ। सम्प्रदायबीच द्वन्द्व हुँदा समाजमा अशान्ति फैलिन्छ। त्यसैले जाति, धर्म, संस्कृति वा राष्ट्रका नाममा द्वन्द्व सिर्जना गर्नु उचित होइन। हिन्दु धर्मले मात्र होइन, क्रिस्चियन, मुस्लिम लगायत कुनै पनि धर्मले धार्मिक युद्ध गर्न वा गराउन प्रेरणा दिएको छैन।
हिन्दु धर्मका शास्त्र, वेद, पुराण तथा महर्षिहरूले यस्ता घटनाका बारेमा के मार्गदर्शन दिएका छन्? विगतमा पनि यस्ता घटना हुन्थे होला नि?
हो, प्राचीन कालमा पनि कहिलेकाहीँ धार्मिक विवाद र द्वन्द्व हुने गर्थे। शङ्कराचार्यको समयमा पनि यस्ता घटना भएका थिए। त्यतिबेला गुरुहरूले शान्तिपूर्ण रूपमा समस्याको समाधान गर्ने प्रयास गर्नुहुन्थ्यो। राज्यको तर्फबाट पनि आवश्यक पहल हुन्थ्यो। समाजमा इमानदारी, निष्ठा, मूल्य–मान्यता र आपसी विश्वास बलियो भएकाले समस्या छिट्टै समाधान हुन्थ्यो। व्यासकालीन समयदेखि शङ्कराचार्यको अवधिसम्म यस्ता घटनाहरू भएका उदाहरण छन्। पछि पनि विभिन्न समयमा धार्मिक द्वन्द्व देखिए। उदाहरणका लागि, भारतको बाबरी मस्जिदसँग सम्बन्धित विवादलाई लिन सकिन्छ।बाबरी मस्जिदको घटनामा धेरै मानिसको ज्यान गयो। हामी एकापसमा द्वन्द्व गर्नु हुँदैन; मिलेर समस्याको समाधान खोज्नुपर्छ। कसैले पनि अर्काको धार्मिक स्थल वा सम्पत्तिमाथि कब्जा गर्ने प्रयास गर्नु हुँदैन। मुस्लिमहरूले मन्दिर कब्जा गर्न जानु हुँदैन, हिन्दुहरूले पनि मस्जिद कब्जा गर्न खोज्नु हुँदैन।
जुन धार्मिक स्थल जहाँ छ, त्यसको सम्मान गर्नुपर्छ। हाम्रो वैदिक सनातन धर्मले सहकार्य, मेलमिलाप, सहअस्तित्व र भ्रातृत्वको भावना सिकाउँछ। शास्त्रमा भनिएको छ— “धारणाद् धर्ममित्याहुर्धर्मो धारयते प्रजाः।“ अर्थात् धर्म भनेको धारण गर्ने कुरा हो, जसले धर्मलाई धारण गर्छ, धर्मले पनि उसलाई धारण गर्छ। त्यसैले हिन्दु, मुस्लिम, क्रिस्चियन लगायत सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम रहनुपर्छ।
कतिपय ठाउँमा धार्मिक गुरुहरूले नै द्वन्द्वलाई नेतृत्व गरेको वा जनतालाई उत्तेजित गरेको देखिन्छ। यस्तो हुनु उचित हो?
होइन। कुनै पनि गुरुले जनतालाई उत्तेजित गर्नु हुँदैन। गुरुको दायित्व भनेको उत्तेजना कम गर्नु, सम्झाइबुझाइ गर्नु र समाजलाई सही मार्गमा डोर्याउनु हो। गुरुहरूले नेताको शैलीमा उत्तेजक भाषण गर्नु उचित होइन। प्रवचन, मधुर वाणी र विवेकपूर्ण संवादमार्फत समाजमा देखिएका समस्याको समाधान खोज्नुपर्छ। पछिल्लो समय केही गुरु तथा धार्मिक व्यक्तित्वहरू पनि विवादमा परेका देखिन्छन्। त्यसैले सबैले संयम अपनाउन आवश्यक छ। धर्मको संरक्षणका लागि बोल्नुपर्ने ठाउँमा बोल्नुपर्छ, तर धार्मिक विषयलाई अनावश्यक रूपमा राजनीतिकरण गर्नु हुँदैन। धार्मिक विषय अत्यन्त संवेदनशील हुन्छ; यसले समाजमा छिट्टै प्रभाव पार्न सक्छ। त्यसैले सबैले जिम्मेवार र संयमित भूमिका निर्वाह गर्नुपर्छ।
धार्मिक द्वन्द्वका विषयमा अन्त्यमा तपाईंको सन्देश के छ?
धार्मिक द्वन्द्व अत्यन्त खतरनाक हुन्छ। एकपटक यस्तो द्वन्द्व सुरु भयो भने त्यसको व्यवस्थापन गर्न निकै कठिन हुन्छ। त्यसैले कसैले पनि धार्मिक द्वन्द्व सिर्जना गर्नु हुँदैन। म हिन्दु, मुस्लिम, क्रिस्चियन लगायत विश्वका सम्पूर्ण धर्मावलम्बीहरूलाई आह्वान गर्न चाहन्छु कि धर्मको माध्यमबाट सत्ता कब्जा गर्ने वा आफ्नो प्रभुत्व विस्तार गर्ने सोच राख्नु हुँदैन। धर्मको मूल उद्देश्य प्रत्येक व्यक्तिको हृदयमा नैतिकता, शान्ति र सद्भावको विकास गर्नु हो।
वेदले पनि सबैको सुख, शान्ति र कल्याणको कामना गर्दै यसरी भनेको छ–
सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
यसको भावार्थ सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले शुभ देखून् र कसैले पनि दुःख भोग्न नपरोस् भन्ने हो। इस्लामको कुरान र क्रिस्चियन धर्मग्रन्थ बाइबलले पनि शान्ति, सद्भाव र मानव कल्याणलाई नै प्राथमिकता दिएका छन्। त्यसैले सबै धर्मावलम्बी मिलेर बस्नुपर्छ, एकअर्कालाई सम्मान गर्नुपर्छ र कसैलाई पनि हेप्ने वा होच्याउने कार्य गर्नु हुँदैन। यस्तो व्यवहार धर्म र शास्त्रको मर्मविपरीत हुन्छ।
शास्त्रले पनि धार्मिक द्वन्द्वलाई निषेध गर्छ। नेपालको संविधानले पनि धर्मनिरपेक्ष व्यवस्था अन्तर्गत सबै धर्मलाई समान अधिकार दिएको छ, होइन?
हो, नेपालको संविधान २०७२ ले धर्मनिरपेक्ष राज्य व्यवस्था स्वीकार गरेको छ। संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्पराको स्वतन्त्र रूपमा अभ्यास गर्ने अधिकार दिएको छ। त्यसैले धार्मिक स्वतन्त्रताको सम्मान हुनुपर्छ। तर धार्मिक स्वतन्त्रताको नाममा स्वच्छन्दता वा अर्काको अधिकारमाथि हस्तक्षेप गर्नु उचित हुँदैन।
विश्वका केही राष्ट्र धर्मनिरपेक्ष छन् भने केही धर्मसापेक्ष पनि छन्। मेरो बुझाइमा धर्मनिरपेक्षता र धर्मसापेक्षताको बहस धेरै हदसम्म राजनीतिक विषय बनेको छ। त्यसैले यसको प्रभाव र परिणामबारे गम्भीर रूपमा अध्ययन र छलफल हुन आवश्यक छ।
मेरो विचारमा जुन देशमा जुन धर्मका अनुयायीहरूको बहुलता छ, त्यस देशको सामाजिक र सांस्कृतिक वास्तविकतालाई सम्मान गर्दै नीति निर्माण गरिनुपर्छ। त्यसो भए समाजमा आपसी सम्मान र सद्भाव अझ बलियो बन्न सक्छ।
आज धर्मनिरपेक्षताको विषय राजनीतिक बहसको माध्यम पनि बनेको देखिन्छ। मेरो धारणा अनुसार नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्रका रूपमा पुनःस्थापना गर्न सकिए धार्मिक सद्भाव अझ सुदृढ हुन सक्छ र धार्मिक द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्न सक्छ। साथै, त्यस्तो अवस्थामा पनि मुस्लिम, क्रिस्चियन तथा अन्य सबै धर्मावलम्बीको सुरक्षा, सम्मान र धार्मिक स्वतन्त्रता सुनिश्चित हुनुपर्छ।
नेपालमा करिब ८२–८३ प्रतिशत नागरिक हिन्दु धर्ममा आस्था राख्छन्। यस्तो अवस्थामा शान्ति कायम गर्न र अन्य धर्मको सम्मान गर्न हिन्दु समुदाय अझ बढी जिम्मेवार हुनुपर्छ, होइन?
उत्तर: अवश्य। हिन्दु समुदाय बहुसंख्यक भएकाले झन् बढी जिम्मेवार र संवेदनशील हुनुपर्छ। आफू बहुसंख्यक भएको आधारमा कुनै पनि अल्पसंख्यक समुदायलाई हेप्ने वा होच्याउने होइन, सबैलाई समान सम्मान दिनुपर्छ। आफूले सम्मान गरेपछि मात्र अरूबाट पनि सम्मान प्राप्त हुन्छ।
त्यसैगरी, हिन्दुहरूको संख्या धेरै भएकाले उनीहरूको प्रभाव घटाउने उद्देश्यले कुनै पनि समुदायले द्वन्द्व सिर्जना गर्ने वा हिंसात्मक गतिविधिमा संलग्न हुनु हुँदैन। मुस्लिम, क्रिस्चियन वा अन्य कुनै पनि समुदायले धार्मिक वा राजनीतिक स्वार्थका लागि समाजमा तनाव बढाउनु उचित होइन। सबै मिलेर राष्ट्रको एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको संरक्षण गर्नुपर्छ।
नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिले भरिएको मुलुक हो। यहाँ सबै समुदाय मिलेर बस्दै आएका छन्।
साथै, सबै नागरिकले धर्मको नाममा राजनीति नगरी आपसी सम्मान, सहिष्णुता र सद्भावलाई प्राथमिकता दिनुपर्छ। किनभने धर्मलाई राजनीतिक स्वार्थसँग जोडियो भने त्यसबाट समाजलाई नै ठूलो क्षति पुग्न सक्छ।
धार्मिक द्वन्द्व अत्यन्त संवेदनशील हुन्छ। यस्तो द्वन्द्व एकपटक चर्किएपछि त्यसले समाजमा गम्भीर हिंसा र अशान्ति निम्त्याउन सक्छ। त्यसैले सबैलाई मेरो आग्रह छ— धार्मिक सद्भाव कायम राखौँ, एकअर्काको आस्थाको सम्मान गरौँ र कुनै पनि प्रकारको धार्मिक दङ्गा वा हिंसाबाट टाढा रहौँ।
धार्मिक सद्भाव कायम गर्न सबै समुदायले कस्तो भूमिका निर्वाह गर्नुपर्छ?
उत्तर: सबैले एकअर्काप्रति त्याग, सहिष्णुता र सम्मानको भावना राख्नुपर्छ। मुस्लिम समुदायले पनि आवश्यक त्याग गर्नुपर्छ र हिन्दु समुदायले पनि त्याग र सहिष्णुताको मार्ग अपनाउनुपर्छ। हिन्दु धर्मले स्वयं त्याग, क्षमा, दया, संयम र नैतिकतालाई विशेष महत्त्व दिएको छ।शास्त्रमा भनिएको छ,
धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम्॥
अर्थात् धैर्य, क्षमा, आत्मसंयम, चोरी नगर्नु, पवित्रता, इन्द्रियनिग्रह, बुद्धि, विद्या, सत्य र अक्रोध—यी धर्मका दस लक्षण हुन्। प्रत्येक हिन्दुले यी गुणहरू व्यवहारमा उतार्नुपर्छ।
भगवद्गीताले पनि समाजमा प्रत्येक व्यक्तिले आफ्नो स्वभाव, गुण र कर्मअनुसार कर्तव्य पालन गर्नुपर्ने शिक्षा दिएको छ। गीतामा भनिएको छ,
ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप।
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणैः॥
त्यसैले सबैले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ। राजसिक वा तामसिक भावनाबाट प्रेरित भएर समाजमा द्वन्द्व र अशान्ति फैलाउने कार्य गर्नु हुँदैन।
गीता, वेद, कुरान र बाइबलले समाजलाई के सन्देश दिन्छन्?
गीता र वेदको मूल उद्देश्य समाजमा शान्ति, सुशासन र मानव कल्याण स्थापना गर्नु हो। यी ग्रन्थहरूले कुनै एक देशको मात्र होइन, सम्पूर्ण विश्व र मानव सभ्यताको हितको चिन्ता गरेका छन्। त्यसैले उनीहरूले दिएका शिक्षालाई व्यवहारमा उतार्न सकियो भने समाजमा शान्ति, सद्भाव र सुशासन कायम हुन्छ।
इस्लाम धर्ममा नमाज पढ्ने, हज गर्ने जस्ता धार्मिक अभ्यासहरूको उद्देश्य पनि मानवता, परोपकार र समाजको कल्याण हो। पैगम्बर मोहम्मदले पनि मानिसहरूलाई आपसमा द्वन्द्व गर्न वा हिंसा फैलाउन शिक्षा दिनुभएको होइन। उहाँले शान्ति, नैतिकता र सदाचारको मार्ग देखाउनुभएको हो। त्यसैले कुरानको सही अध्ययन गरेर त्यसको शिक्षालाई व्यवहारमा उतार्नुपर्छ।
त्यसैगरी, बाइबलको मूल सन्देश पनि प्रेम, शान्ति र मानव कल्याण नै हो। त्यसैले वेद, कुरान र बाइबल सबैले अन्ततः मानिसहरूलाई मिलेर बस्न, एकअर्काको सम्मान गर्न र शान्तिपूर्ण समाज निर्माण गर्न प्रेरित गर्छन्।
नेपाल सरकारलाई तपाईं के सुझाव दिन चाहनुहुन्छ?
मेरो आग्रह नेपाल सरकारसँग पनि छ। धार्मिक विषयसँग सम्बन्धित आयोगहरूको आवश्यकता र प्रभावकारिताबारे पुनर्विचार गर्नुपर्छ। नेपालमा विभिन्न धर्म र धार्मिक संस्थाहरू छन्। प्रत्येकका लागि अलग–अलग आयोग गठन गर्नु व्यावहारिक नहुन सक्छ। धार्मिक समस्या उत्पन्न भएमा सरकारले सम्बन्धित पक्षसँग समन्वय गरेर प्रत्यक्ष रूपमा समाधान खोज्नुपर्छ। आयोग गठन गर्नेभन्दा प्रभावकारी संवाद र समन्वयको माध्यमबाट समस्या समाधान गर्नु उपयुक्त हुन्छ भन्ने मेरो धारणा हो।
तपाईंले सरकारले भूमिका खेल्नुपर्छ भन्नुभयो। तर यस्ता विषयमा सरकार वा प्रशासनभन्दा धार्मिक गुरुहरू र समुदायको भूमिका अझ महत्त्वपूर्ण हुँदैन र?
अवश्य हुन्छ। धार्मिक विषय भएकाले धार्मिक गुरुहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। देशका प्रतिष्ठित गुरुहरू मौन बस्नु हुँदैन। प्रवचन, धार्मिक सभा वा अन्य माध्यमबाट जनतालाई शान्ति, संयम र सद्भावको सन्देश दिनुपर्छ।
गुरुहरूको बोलीले आफ्ना अनुयायीहरूमा ठूलो प्रभाव पार्छ। त्यसैले समाजमा तनाव वा द्वन्द्व देखिएको बेला गुरुहरूले जिम्मेवारीपूर्वक अगाडि आएर समाजलाई सही मार्गदर्शन गर्नुपर्छ। यदि यस्तो अवस्थामा गुरुहरू मौन बस्छन् भने त्यसले समाजलाई आवश्यक नेतृत्वबाट वञ्चित बनाउँछ।
यदि धार्मिक गुरुहरूले पनि समस्या समाधान गर्न नसके भने त्यसपछि के गर्नुपर्छ?
यदि धार्मिक गुरुहरूको पहलबाट पनि समस्या समाधान हुन सकेन भने सरकारले सक्रिय भूमिका खेल्नुपर्छ। समाजसेवी, बुद्धिजीवी तथा सम्बन्धित पक्षहरू सबै मिलेर समाधान खोज्नुपर्छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विभिन्न समयमा शान्ति र सद्भाव कायम गर्न सार्वजनिक आह्वान गर्नुभएको थियो। त्यसअघि राजा महेन्द्रको शासनकालमा पनि सामाजिक तनाव उत्पन्न हुँदा राज्य नेतृत्व स्वयं सक्रिय भएर समाधान खोज्ने प्रयास गरेको उदाहरण पाइन्छ।
सामान्यतया नेतृत्व तहमा रहेका व्यक्तिहरूको भनाइले समाजमा प्रभाव पार्छ। त्यसैगरी, गुरुहरूप्रति पनि जनताको गहिरो आस्था र विश्वास हुन्छ। त्यसैले मन्दिरका पण्डित, आचार्य तथा धार्मिक विद्वानहरूले समाजमा द्वन्द्व भइरहेको अवस्थामा केवल आफ्ना नियमित धार्मिक कार्यमै सीमित नबसी आवश्यक परेका बेला शान्ति र सद्भावको पक्षमा स्पष्ट रूपमा बोल्नुपर्छ।
अहिले सामाजिक सञ्जाल र मिडियामा घटनाका टुक्रा–टुक्रा भिडियोहरू, पुराना दृश्यहरू वा अपूर्ण सामग्रीका आधारमा मानिसहरूले धारणा बनाइरहेका छन्। यस विषयमा मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता र दर्शकहरूलाई के भन्न चाहनुहुन्छ?
सबै पत्रकार तथा सञ्चारकर्मीप्रति मेरो सम्मान छ। उहाँहरूको भूमिकाको म कदर गर्छु। तर धार्मिक द्वन्द्वजस्ता संवेदनशील विषयमा पुराना भिडियो वा पुराना द्वन्द्वका दृश्यहरू पुनःप्रसारण नगर्न म आग्रह गर्दछु। सस्तो लोकप्रियता वा धेरै भ्युज प्राप्त गर्ने उद्देश्यले यस्ता सामग्री प्रसारण गर्नु उचित हुँदैन।
पत्रकारिता व्यवसाय हो, तर संवेदनशील विषयमा सामाजिक जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले समाचार प्रस्तुत गर्दा तथ्य, सन्तुलन र संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्छ।व्यवसाय त गर्नुपर्छ, तर अनैतिक ढङ्गले भ्युज वा आम्दानी बढाउने उद्देश्यले उत्तेजना फैलाउने काम गर्नु हुँदैन, होइन?
विगतका ऐतिहासिक घटनाहरूलाई अहिलेको सन्दर्भमा कसरी लिनुपर्छ?
इतिहासमा विभिन्न समुदायबीच भएका द्वन्द्व र संघर्षका घटनाहरू छन्। ती इतिहासका विषय हुन्। आजका पुस्ताले ती घटनालाई लिएर आपसी वैमनस्य बढाउने होइन, बरु त्यसबाट शिक्षा लिएर मेलमिलाप र सद्भावको बाटो रोज्नुपर्छ।
हालै कश्मीरमा भएका हिंसात्मक घटनाजस्ता उदाहरणहरू पनि दुःखद छन्। यस्ता घटना दोहोरिन नदिन सबै धार्मिक गुरु तथा समुदायका अगुवाहरूले आफ्ना अनुयायीहरूलाई संयम, शान्ति र सहिष्णुताको सन्देश दिन आवश्यक छ। सबै मिलेर बसौँ, समाजमा शान्ति कायम गरौँ भन्ने सन्देश नै सबैले दिनुपर्छ।
अन्त्यतिर आइपुग्दा, विशेषगरी सुनसरी, सिराहा लगायत धार्मिक तनाव देखिएका क्षेत्रका नागरिक, स्थानीय समुदाय र समाजलाई के सन्देश दिन चाहनुहुन्छ?
जे घटना भइसके, त्यो दुःखद हो। अब त्यसबाट शिक्षा लिएर सबैले धैर्य र संयम अपनाउनुपर्छ। कुनै पनि विषयमा प्रतिक्रिया दिनुअघि राम्रोसँग सोच्नुपर्छ। यदि आवेग नियन्त्रण गर्न कठिन भइरहेको छ भने तत्काल प्रतिक्रिया दिनुभन्दा केही समय मौन बस्नु नै राम्रो हुन्छ।
अहिले देशमा पुनः शान्त वातावरण बन्दै गएको छ। त्यसैले सबै समुदायका नागरिकलाई शान्तिपूर्ण रूपमा बस्न, एकअर्काप्रति सम्मान राख्न र कुनै पनि प्रकारको द्वन्द्वमा संलग्न नहुन म आग्रह गर्दछु।
मानिसको जीवन अस्थायी छ। वेद, गीता र अन्य धार्मिक शिक्षाले पनि शान्ति, सद्भाव र नैतिकताको मार्ग देखाएका छन्। कानुन र सरकार समयअनुसार परिवर्तन हुन सक्छन्, तर मानवता, सहिष्णुता र आपसी सम्मानका मूल्यहरू स्थायी छन्। त्यसैले सबै धर्म, संस्कृति र सम्प्रदायका मानिसहरू मिलेर बस्नु नै सबैभन्दा उचित मार्ग हो।
अन्त्यमा थप केही सन्देश दिन चाहनुहुन्छ?
सबैलाई मेरो आग्रह छ—शान्तिपूर्ण, सद्भावपूर्ण र आनन्दमय जीवन बिताउनुहोस्। धार्मिक द्वन्द्वबाट टाढा रहनुहोस्। धार्मिक गुरुहरूले पनि समाजमा शान्ति र मेलमिलापको सन्देश फैलाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। सबै धर्म, संस्कृति र समुदायका मानिसहरू एकअर्काको सम्मान गर्दै सहअस्तित्वका साथ बसून् भन्ने मेरो शुभकामना छ।


















