संसद्का तीन समितिको बैठक आज, पर्यटन विधेयकदेखि कारागारको मानवअधिकार अवस्थासम्म छलफल हुने

सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) तीनवटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकहरूमा पर्यटन विधेयक, कारागार तथा हिरासतमा रहेका कैदीबन्दीको मानवअधिकार अवस्था र सडक निर्माणमा देखिएको ढिलाइलगायतका विषयमा छलफल हुने कार्यसूची छ। बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि विषय विज्ञसँग छलफल गरिनेछ। विधेयकका विभिन्न प्रावधानबारे विज्ञको सुझाव संकलन गर्ने समितिको तयारी छ।

यस्तै, बिहान १०ः०० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीहरूको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यसैगरी, पूर्वाधार विकास समितिको बैठक पनि बिहान १०ः०० बजेका लागि बोलाइएको छ। बैठकमा विद्युत् वितरण लाइन र पोल समयमै व्यवस्थापन नहुँदा सडक निर्माण आयोजनामा भइरहेको ढिलाइ तथा त्यसको समाधानका उपायबारे सम्बन्धित निकायसँग छलफल गरिने जनाइएको छ।