संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यक : आङदेम्बे

नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रवार सम्बोधन गर्दै नेता आङदेम्बेले संविधानको पुनर्लेखनभन्दा पनि कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

उनले संविधान कार्यान्वयनको १० वर्षमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसङ्ख्यक, मुस्लिम र थारु समुदायले भोग्नुपरेका समस्यालाई पहिचान गरी संशोधनमार्फत समाधान खोजिनुपर्ने बताए । पछिल्लो समय लोकप्रियताका नाममा संविधानविरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । जिम्मेवार तहमा रहेका र नरहेका कतिपय व्यक्तिहरूले जनभावनासँग खेलेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको उनको आरोप छ ।

यस्ता प्रवृत्तिप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत हुनुपर्ने उनले बताए । ‘हामी अहिले संविधानको पुनरावलोकन गर्ने ठाउँमा आइपुगेका छौँ । यो नयाँ संविधानको खोजी वा पुनर्लेखन नभई १० वर्षको अभ्यासमा देखिएका कमजोरीहरू सुधार्न गरिने परिमार्जन हो,’ उनले भने ।

उनले दशकौँ लामो संघर्ष र ठूलो बलिदानबाट संविधान प्राप्त भएको उल्लेख गर्दै आगामी पुस्ताले फेरि अधिकारका लागि उही संघर्ष दोहोर्‍याउनु नपरोस् भन्नका लागि प्राप्त अधिकारको रक्षा गर्नुपर्ने बताए । आङदेम्बेले भावनामा बहकिएर कसैको ‘इमोसनल ब्ल्याकमेल’मा नपर्न पनि आग्रह गरे । पहिचान र अधिकारको सुनिश्चितता लोकतन्त्र र लोकतान्त्रिक पार्टीबाट मात्र सम्भव हुने दाबी गर्दै उनले नेपाली काँग्रेसले सबैको अस्तित्व र इतिहासलाई संस्थागत रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गरे ।

उनले लोकतन्त्रको रक्षाका लागि काँग्रेसका कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।