सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त छ: निश्कल राई

नेपाली काँग्रेसका सचेतक निश्कल राईले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माणमा जोड दिएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सचेतक राईले पहिचानको नाममा समाजलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताए ।

उनले मुलुकमा लोकतन्त्र प्राप्तिका लागि प्रथम शहीद लखन थापादेखि इलामको सात खाल्डेका शहीदहरूसम्मले पुर्‍याएको योगदानको स्मरण गरे । आफू इलामको सामान्य किसान परिवारमा जन्मिएको र विभिन्न समुदायको संस्कार तथा संस्कृतिमा हुर्किएको उल्लेख गर्दै उनले बहुजातीय र बहुसांस्कृतिक एकता नै नेपालको सुन्दरता भएको बताए ।

राईले आफू जन्मले नभई विचार र चिन्तनले काँग्रेस भएको स्पष्ट पारे । पहिचानको विषयमा बोल्दै उनले आदिवासी जनजातिहरूले आफ्नो पहिचानका लागि पार्टी र राज्यका हरेक निकायमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे । तर, आफ्नो पहिचानको सम्मान खोज्नेले अरूको पहिचानलाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय पहिचानको नाममा मानिसहरूलाई भावनात्मक रूपमा उत्तेजित बनाएर द्वन्द्व सिर्जना गर्न खोजिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

कतिपय शक्तिले इतिहास र पहिचानलाई देखाएर पार्टी प्रवेश गराउने होडबाजी चलाएको उल्लेख गर्दै उनले त्यसले अन्ततः द्वन्द्व निम्त्याउने चेतावनी दिए । पहिचान पनि भेटिने र द्वन्द्व पनि मेटिने गरी काँग्रेसका नेताहरूले अघि सारेको मार्गलाई आत्मसात गर्न उनले आग्रह गरे ।

‘कांग्रेसले यो देशको स्वतन्त्रता र नागरिक अधिकार सुनिश्चित गर्न पुर्‍याएको ऐतिहासिक योगदानलाई हेरेर म यस पार्टीमा आबद्ध भएको हुँ । मेरो सोच र चिन्तनले मलाई कांग्रेस बनाएको हो । आफ्नो पहिचानको सम्मान खोज्नेले अरूको पहिचानलाई पनि आदर गर्न सिक्नुपर्छ, यो नै प्रजातन्त्र र काँग्रेसको शैली हो,’ उनले भने ।

काँग्रेसको आन्तरिक रूपान्तरणबारे चर्चा गर्दै सचेतक राईले पार्टीको कार्यशैलीमा परिवर्तन आएको दाबी गरे । काँग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आधारभूत सिद्धान्त यथावत् रहे पनि कार्यशैलीमा भने व्यापक रूपान्तरण भएको उनको भनाइ छ । बजारमा बढ्दो महँगी र ग्यासलगायत अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेको उल्लेख गर्दै उनले सरकार जनसरोकारका विषयमा संवेदनशील नभएको आरोप लगाए ।

सरकार जनताका समस्या समाधान गर्नुभन्दा अन्य विषयमा व्यस्त रहेको टिप्पणी गर्दै उनले सदन र सामाजिक सञ्जालमार्फत सरकारलाई निरन्तर खबरदारी गर्न कार्यकर्ताहरूलाई आग्रह गरे ।