भूमिहीन–सुकुम्बासीको पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा काठमाडौं

गत बैशाख १२ गते काठमाडौंका नदि किनार बाट उठाएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले भूस्वामित्वसहित स्थायी पुनर्स्थापना र विस्थापनबाट भएको क्षतिपूर्तिको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिले चरणबद्ध आन्दोलन घोषणा गरेको छ। मोर्चाको काठमाडौं उपत्यका विशेष समितिका इन्चार्ज दल मर्दन कामी, अध्यक्ष कुमार राई र सचिव अरुण बस्नेतले गरेको संयुक्त हस्ताक्षरमा शुक्रबार अनामनगर स्थित राष्ट्रिय प्रेस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्।

मोर्चाले काठमाडौं उपत्यकाका थापाथली, शान्तिनगर, गैरीगाउँ, मनहरा, जडीबुटीलगायतका बस्तीमा लामो समयदेखि बसोबास गर्दै आएका परिवारलाई उचित वैकल्पिक व्यवस्थापन र पुनर्स्थापनाबिना विस्थापित गरिएको आरोप लगाएको छ। विस्थापित परिवारलाई राखिएको होल्डिङ सेन्टरको अवस्था समेत अमानवीय र असुरक्षित रहेको मोर्चाको दाबी छ। मोर्चाले भूस्वामित्वसहित स्थायी पुनर्स्थापना, विस्थापनबाट भएको क्षतिको उचित क्षतिपूर्ति, होल्डिङ सेन्टरमा रहेका परिवारको मानवीय संरक्षण तथा भूमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासिको कानुनसम्मत लगत प्रमाणीकरण, नापजाँच र जग्गाधनी पुर्जा वितरणलाई मुख्य माग बनाएको छ। घोषित कार्यक्रमअनुसार साउन २२ गते उपत्यकाका पीडित परिवारका सदस्यलाई आफ्नो हकअधिकार कसरी सुनिश्चित गर्ने गराउने बारे प्रशिक्षण सहितको बैठकले गरेको निर्णय अनुसार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

जस अनुसार साउन २३ गते मनहरा प्रभावित बस्तीमा ध्यानाकर्षण, साउन २६ गते काठमाडौं उपत्यकाका सम्बन्धित स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र, साउन २८ गते भूमि समस्या समाधान समितिका कार्यालयमा ध्यानाकर्षणपत्र र साउन ३१ गते राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षणपत्र बुझाइने मोर्चाले जनाएको छ। त्यस्तै, भदौ ४ गते माइतीघर मण्डलामा बृहत् खबरदारी सभा तथा भदौ ७ गते नागरिक समाज, राजनीतिक दल, मानव अधिकारकर्मी, कानुन व्यवसायी, बुद्धिजीवी र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिने जनाएको छ । माग सम्बोधन नभए भदौ १२ गतेदेखि अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह धर्ना सुरु गर्ने मोर्चाले चेतावनी दिएको छ। मोर्चाले सरकारलाई तत्काल संवादमा आउन र सम्मानजनक तथा दिगो पुनर्स्थापनाको ठोस योजना सार्वजनिक गर्न आग्रह समेत गरेको छ।

उपत्यका इन्चार्ज तथा राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल,केन्द्रिय सल्लाहकार दलमर्दन कामिले आन्दोलन बारे आफ्नो धारणा राख्दै उनले भने आन्दोलन शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक हुने कुरालाई स्पष्ट पार्दै उनलेे भने आन्दोलन गर्नु कसैको रहर हैन बाध्यता हो “आवास आम नागरिकको संवैधानिक अधिकार हो, दया होइन। नागरिक सम्मानजनक भूस्वामित्वसहित पुनर्स्थापनासम्म उनको अधिकार हो राज्यद्वारा बेघर बनाइएको नागरिकको अधिकार जहिलेसम्म सुनिश्चितता हुन्न तबसम्म आन्दोलन संघर्ष जारी रहने दावी गरेकाछ्न।