सरकारले पहाडी तथा हिमाली क्षेत्रका नौ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सहसचिव तहको दरबन्दी हटाएर उपसचिव तहमा कायम गरेको छ। गृह मन्त्रालयले हालै गरेको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) अनुसार बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, सल्यान, जाजरकोट, रोल्पा, भोजपुर र खोटाङमा अब उपसचिव तहका अधिकारी प्रमुख जिल्ला अधिकारीका रूपमा खटिनेछन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रालयअन्तर्गत समग्रमा नौ जना सहसचिवको दरबन्दी कटौती गरिएको हो। जिल्लाको जनसंख्या, प्रशासनिक कामको चाप तथा शान्ति-सुरक्षाको अवस्थालाई आधार बनाएर दरबन्दी पुनर्संरचना गरिएको उनले बताए। नयाँ संगठन तथा दरबन्दी संरचना स्वीकृत भइसकेपछि मन्त्रालयले राष्ट्रिय किताबखानामा दर्ताका लागि पठाइसकेको छ।
यसअघि ७७ जिल्लामध्ये ६१ जिल्लामा सहसचिव तहका अधिकारीलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाउने दरबन्दी थियो। नयाँ संरचनापछि अब ५२ जिल्लामा मात्रै सहसचिव तहका अधिकारी सीडीओ हुनेछन्। गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाकी प्रमुख मीना अर्यालका अनुसार जिल्ला प्रशासन कार्यालयतर्फ नौ जना सहसचिवको दरबन्दी कटौती भएको छ। त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयमा रहेको एक सहसचिवको दरबन्दी पनि हटाइएको छ।
यससँगै गृह मन्त्रालयअन्तर्गत कुल १० जना सहसचिवको दरबन्दी कटौती भएको मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्थाअनुसार सम्बन्धित जिल्लामा प्रशासनिक जिम्मेवारी सम्हाल्न उपसचिव तहका अधिकारीलाई सीडीओका रूपमा खटाइनेछ।


















