धवलशमशेर राणा  र दुर्गा प्रसाईँले  अलग अलग पार्टी गठन गर्ने

 

 

काठमाडौँ । नेता धवलशमशेर राणाले राप्रपाबाट अलग भएर नयाँ पार्टी गठन गर्न लागेपछि मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईँले पनि छिट्टै अर्को पार्टी गठन गर्ने जनाएका छन् ।

नेता राणा र प्रसाईँले एउटै पार्टी गठन गर्ने बताइए पनि अन्ततः उनीहरूबिच कुरा नमिल्दा दुवैले अलग अलग पार्टी गठन गर्ने तयारी गरेका हुन् ।  राणाले आज शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल’ नामक पार्टी दर्ता गर्दैछन् ।

 

यही बेला प्रसाईँले आफ्नै नेतृत्वमा अर्को पार्टी छिट्टै गठन हुने जानकारी दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै प्रसाईँले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई केही समय धैर्य गर्न आग्रह गरेका छन् ।

 

‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ’, प्रसाईँले भनेका छन्, ‘वैदिक सनातनी हिन्दु अधिराज्यसहितको यो पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ ।केही समय धैर्य गर्नुहोला । तपाईँ हाम्रो पार्टी छिट्टै खुल्नेछ ।’

 

२००४ सालदेखि २०८२ सालसम्म पार्टी दर्ता गर्ने र नेता बन्ने काम भएपनि गरिबीको रेखामुनि रहेका सर्वहारा वर्ग, भुइँमान्छे, उत्पीडित वर्ग, भूमिहीन सुकुम्वासी तथा लघुवित्त, सहकारी, बैंक र मिटरब्याजीहरूको चर्को चक्रवर्ती ब्याजमा परी घरबार गुमाएर सडकका पेटी र खोला किनारमा अव्यवस्थित बसोबास गर्न बाध्य नागरिकहरूको जीवनस्तर जहीँको त्यहीँ रहेको प्रसाईँको भनाइ छ ।

 

‘त्यसैले कुनै पनि पार्टी ती नागरिकहरूको वास्तविक पार्टी बन्न सकेन । त्यसैले हामीले राजाको हातबाट पानसमा दियो बालेर, शान्तिका दूत परेवा उडाएर, राजालाई साक्षी राखेर नागरिकहरूका मुद्दा बोकी अगाडि बढेका हौँ’, राप्रपा त्यागेर आएका नेताहरूलाई प्रसाईँको भनाइ छ ।