काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २०८२ पुसमा गरिएको भनिएको ‘विशेष महाधिवेशन’ लाई अवैधानिक र षड्यन्त्रमूलक ठहर गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न हुनुपर्ने प्रस्ताव अघि सारेका छन्।
शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय भेलामा ‘राजनीतिक प्रतिवेदन तथा प्रस्ताव’ प्रस्तुत गर्दै नेता निधिले पार्टीभित्रको वर्तमान अन्योल र विभाजनलाई चिर्न देउवाकै नेतृत्व अपरिहार्य रहेको जिकिर गरेका हुन् ।
निधिले प्रस्तुत गरेको प्रस्तावमा महामन्त्रीद्वयले विधान विपरीत र अराजक ढङ्गले विशेष महाधिवेशन गरी १४औँ महाधिवेशनबाट निर्वाचित सभापति र कार्यसमितिलाई विघटन गरेको घोषणा गर्नुलाई ‘नेतृत्व कब्जा गर्ने दुराशयपूर्ण रणनीति’ भनिएको छ । प्रस्तावमा भनिएको छ, ‘विशेष महाधिवेशनका नाममा कतिपय प्रतिनिधि र महासमिति सदस्यको नक्कली हस्ताक्षर गराइएको थियो । यो कांग्रेसलाई चिरा पार्ने र नेताहरूको तेजोवध गर्ने सङ्गठित प्रयास हो।’
नेता निधिले विशेष महाधिवेशनकै कारण नेपाली कांग्रेस संसदीय इतिहासमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी गरेका छन् । २०७९ को निर्वाचनमा ८८ स्थान जितेर पहिलो शक्ति बनेको कांग्रेस विशेष महाधिवेशनपछिको ‘विग्रह’ का कारण खुम्चिएर ३८ स्थानमा झरेको तथ्याङ्क प्रतिवेदनमा प्रस्तुत गरिएको छ।
स्तावमा विशेष महाधिवेशन पक्षधरले कांग्रेसको आदर्श ‘लोकतान्त्रिक समाजवाद’ लाई छोडेर ‘सामाजिक लोकतन्त्र’ तर्फ उन्मुख भएको भन्दै वैचारिक विचलनको आरोप लगाइएको छ । ‘कांग्रेस बदल्ने नाममा बीपीको विचार र पार्टीको मौलिक पहिचानलाई परित्याग गर्दै इतिहासलाई विस्मृतिमा पुर्याउने प्रयास भइरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ।
निर्वाचन आयोगले देउवाको हस्ताक्षर हटाएर गगन थापाको हस्ताक्षर कायम गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले ‘पुनरावलोकनको अनुमति’ (निस्सा) दिएकोमा निधिले स्वागत गरेका छन्। आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरको ‘फरक मत’ लाई उद्धृत गर्दै निधिले आयोगको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको बताए ।
काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी राष्ट्रिय भेलामा आजबाट बन्दसत्र सुरु भएको छ ।जारी बन्दसत्रमा नेताहरूले विभिन्न प्रतिवेदनहरू पेश गर्न थालिएको छ । हालसम्म राजनीतिक प्रतिवेदन, आर्थिक सामाजिक नीतिको कार्यदिशा, समसामयिक राजनीतिक प्रतिवेदन पेश भएका छन् । अन्य प्रतिवेदनहरू पनि पेश हुने क्रममा छन् ।बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने डा. प्रकाशशरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा पेश गरेका छन् ।
त्यस्तै, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।हिजोबाट सुरु भएको भेला भोलिसम्म चल्ने बताइएको छ ।



















