नेपाली कांग्रेसको संस्थापन इतर समूहले दुईदिने राष्ट्रिय सम्मेलन पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न गरेको छ। डा. शशांक कोइरालाको संयोजकत्वमा भएको सम्मेलनले पार्टीको १५ औँ महाधिवेशनदेखि धर्म-संस्कृति र संविधान संशोधनसम्मका विषय समेटेको छ। सम्मेलनले १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको छ। महाधिवेशन नहुँदासम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा सम्मेलन संयोजकले समन्वय गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
त्यस्तै, मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद अघि बढाउने र राष्ट्रियता तथा लोकतन्त्र सुदृढीकरणमा सक्रिय रहने निर्णय गरिएको छ। सम्मेलनले नेपालको सनातन धर्म-संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ। हिन्दू, बौद्ध, किरात तथा प्रकृति पूजक समुदायको धार्मिक स्वतन्त्रता र सहिष्णुता कायम राख्नुपर्नेमा पनि जोड दिइएको छ।
त्यसैगरी, जनअपेक्षाअनुसार संविधान संशोधनका लागि संविधानमै व्यवस्था भएबमोजिम सम्बन्धित पक्षसँग संवाद अघि बढाउने प्रस्ताव पारित भएको छ। सम्मेलनबाट आएका सुझाव र प्रस्तावलाई समेटेर अन्तिम दस्तावेज तयार गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ।




















