देउवाको ‘हिन्दु हुँ’ उवाच: कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिने संकेत हो ?

नेपाली कांग्रेसको इतर समूहले काठमाडौंमा तीनदिने राष्ट्रिय भेला आयोजना गर्‍यो २९ साउनदेखि । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा २८ साउनमा आएको भोलिपल्ट भेला सुरु भएको थियो । अर्थात्, भेलाका लागि देउवा हङकङबाट बैंककहुँदै काठमाडौं ओर्लिए ।

देउवाले १३ फागुन २०८२ मा काठमाडौं छोडेका थिए । झण्डै पाँच महिनापछि काठमाडौं ओर्लिएका देउवाले सार्वजनिक मञ्चमा दिएको दुईवटा अभिव्यक्ति अर्थपूर्ण देखिन्छ । एक, आएकै दिन चुनदेवीको निवासको बार्दलीबाट राजा ज्ञानेन्द्र शाहले पनि नसकेका अरु कसले सक्छ भन्दै आक्रोश पोखेका थिए । त्यो आक्रोशको निशाना अहिलेको सरकार र कांग्रेस सभापति गगन थापालक्षित देखिन्थ्यो ।

अर्थात्, उनी जुन रूपमा कमजोर भएर काठमाडौं छोड्दै थिए, ओर्लिँदा उनी बलियो भएको संकेत त्यसदिनको अभिव्यक्तिले मात्र होइन, विमानस्थलमा देखिएको सनरुप यात्राले पनि पुष्टि गर्दथ्यो । त्यसबाहेक देउवाको अर्को अभिव्यक्ति अर्थपूर्ण देखिएको छ । भेला समापनका दिन ३१ साउनको मध्याह्नमा देउवाले भने– म हिन्दु हुँ, हिन्दुँ ।’ उनी त्यतिमा रोकिएनन् । थप भने, ‘मेरो ब्रतबन्ध र विवाह पनि हिन्दु परम्परा अनुसार भएको हो । म मन्दिर जान्छु । पशुपतिनाथको पूजा गर्छु ।’ र देउवाले गर्जिँदै भने, ‘त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।’

देउवाका यो अभिव्यक्ति र सन्दर्भलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपालमा पछिल्ला दिनमा हिन्दु राष्ट्र निर्माणप्रति दबाब बढ्दै गएको छ । संविधान संशोधनका क्रममा धर्म निरपेक्षताको विकल्पमा हिन्दु धर्मसापेक्ष बनाउनुपर्ने एकथरीको माग छ । त्यसमा हिन्दुवादी संघसंस्थाहरूले त दबाब र आन्दोलन गर्दै आएका छन् । र, राजनीतिक दलभित्र पनि त्यो दबाब प्रवेश गरिसकेको छ । त्यसमा पनि कांग्रेसभित्र पहिलादेखि नै यो मुद्दाले प्राथमिकता पाइरहेको थियो ।

कांग्रेस नेता शशांक कोइराला यो मुद्दामा पहिलादेखि नै भोकल थिए । अहिले पनि उनी त्यसको पक्षमा छन् । अनि, देउवा समूहको अहिलेको भेला आयोजनामा तिनै कोइरालालाई संयोजक बनाउनु र समापनमा देउवाले हिन्दु हुँ भनेर भन्नुलाई यो समूहले धार्मिक एजेन्डा परिवर्तन गर्न खोजेको अर्थमा बुझ्न सकिन्छ ।