पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवालाई अध्ययन, संवाद र बहसबाट तथ्य तथा तर्कमा आधारित राजनीतिक धारणा बनाउन आग्रह गरेकी छन्। मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समयसँगै राजनीतिक विचार पनि विकसित हुँदै जाने भएकाले जिज्ञासा राख्ने, अध्ययन गर्ने र फरक विचार सुन्ने संस्कार विकास गर्नुपर्ने बताइन्।
लोकतन्त्रको वास्तविक शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मान गर्दै तथ्य र तर्कका आधारमा निष्कर्षमा पुग्नुमा रहेको भण्डारीको भनाइ थियो। सामाजिक सञ्जाल र सूचना प्रविधिका कारण आजको पुस्ता धेरै सूचनासम्पन्न भए पनि सूचना र सही ज्ञान एउटै नभएको उनले बताइन्। त्यसैले सूचनालाई तथ्य, भावनालाई विवेक र आलोचनालाई रचनात्मकतासँग जोड्न युवाले सिक्नुपर्नेमा उनले जोड दिइन्।
राजनीतिमा युवाको सहभागिता निर्वाचनका बेला मत माग्ने वा दिनेमा सीमित हुन नहुने भन्दै भण्डारीले समाज बुझ्ने, जनताको आवाज सुन्ने र नीति निर्माण तथा देश विकासमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रियाका रूपमा राजनीतिलाई लिन आग्रह गरिन्।


















