शशांक कोइराला : तीन दिनको मित्रता र एकता अब पार्टीमा पनि देखिनुपर्छ

नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले तीन दिनको भेलामा नेता-कार्यकर्ताबीच बढेको आत्मीयता र एकतालाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित राष्ट्रिय भेला समापन समारोहमा बोल्दै कोइरालाले सँगै बसेर छलफल र अनुभव आदानप्रदान गर्दा आपसी सम्बन्ध थप प्रगाढ बनेको बताएका हुन् । उनले भने, ‘तीन दिन हामी सँगै बस्यौं, खायौं, मित्रता बढ्यो। यो मित्रता नटुटोस् ।’

पार्टीभित्र एकता कायम गर्ने उद्देश्यले भेला आयोजना गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सबै नेता–कार्यकर्ता एउटै ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । भेलाको संयोजकको जिम्मेवारी पाएपछि कार्यक्रम सफल हुनेमा आफूलाई केही आशंका भए पनि सहभागीहरूको उत्साह र सक्रियताले भेला सफल भएको कोइरालाले बताएका छन् ।

काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबारदेखि सुरु भएको कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले पाँचवटा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।