प्लेजरिज्म (साहित्यिक चोरी) विवादमा मुछिएका क्याम्ब्रिज विश्वविद्यालयका पूर्वप्राध्यापक जेसन अर्डे मृत फेला परेका छन् । आपत्कालीन सेवाका अनुसार शुक्रबार दिउँसो दक्षिण लन्डनको ब्याटर्सीस्थित एक ठेगानामा एक पुरुषलाई अचेत अवस्थामा फेला पारिएको थियो । पछि ती व्यक्ति अर्डे रहेको पुष्टि भएको बीबीसीले उल्लेख गरेकाे छ ।
अर्डेले प्लेजरिज्म गरेको आरोप तथा आफ्ना केही शैक्षिक उपलब्धिबारे प्रश्न उठेपछि गत साता क्याम्ब्रिज विश्वविद्यालयमा शिक्षा समाजशास्त्रका प्राध्यापक पदबाट राजीनामा दिएका थिए । उनले आफूमाथि लगाइएका आरोप भने अस्वीकार गर्दै आएका थिए । अर्डेको परिवारले उनको निधनप्रति दुःख व्यक्त गर्दै आफूहरू स्तब्ध भएको जनाएको छ । परिवारले उनलाई असल बुबा, जीवनसाथी, दाजु, काका र छोरा भएको उल्लेख गरेको छ ।
परिवारका अनुसार अर्डेमाथि गलत सूचना फैलाउने अभियानले उनलाई निकै प्रभावित पारेको थियो । ‘जेसन कोमल स्वभावका व्यक्ति थिए र सधैँ सबैमा राम्रो पक्ष देख्न चाहन्थे,’ परिवारले भनेको छ । शुक्रबार बिहानै लन्डन एम्बुलेन्स सेवाले ब्याटर्सीस्थित एक ठेगानामा बोलाएपछि प्रहरी अधिकारीहरू घटनास्थल पुगेका थिए ।


















