काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभामा ७८ दिनदेखि जारी राखेको विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहलाई सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि कांग्रेसले सदनको गतिरोध अन्त्य गर्ने निर्णय लिएको हो ।
कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री शाहले रोस्ट्रममा उभिएर नेपालले भारतको जग्गा मिचेको छ भनी दिएको अभिव्यक्तिप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताए ।
‘यो अभिव्यक्ति राष्ट्रको हितमा थिएन, त्यसैले हामीले ७८ दिनदेखि निरन्तर उभिएर विरोध जनाउँदै आएका थियौँ,’ राईले भने, ‘सभामुखले आज जुन हिसाबले रुलिङ गर्नुभएको छ, त्यसलाई हामी सम्मान गर्दछौँ ।’
लोकतन्त्रमा संस्थाहरू बलियो हुनुपर्ने भन्दै सचेतक राईले सभामुखको रुलिङलाई कांग्रेसले विश्वासको रूपमा लिएको बताए ।


















