अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुन: स्थापित भएको सङ्केत गरेको छ । उनले किमले आफूले गरेको पछिल्लो सम्पर्क प्रयासको जवाफ दिएको र दुई नेताबीचको संवाद सकारात्मक रहेको बताएको हो । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पहिलो कार्यकालमा तीनपटक भेटेका किमसँगको सम्बन्धले कोरियाली प्रायद्वीपको अवस्था ‘धेरै सुरक्षित’ बनाएको दाबी गरे । दोस्रो कार्यकाल सुरु भएपछि भने उनीहरूको प्रत्यक्ष भेट भएको छैन ।
गत वर्ष दोस्रोपटक राष्ट्रपति पद सम्हालेपछि किमसँग कुराकानीका लागि आफूले गरेको अनुरोधको जवाफ नआएको हो कि भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई ‘तपाईंलाई कसरी थाहा छ कि उनले प्रतिक्रिया दिएको छैन रु” भनेर प्रतिप्रश्न गरे । किमले वास्तवमै जवाफ दिएको हो कि होइन भन्ने प्रश्नमा उनले “हो, उनले दिएको छ”, भने ।
किमसँगको कुराकानी कुन चरणमा पुगेको छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले संवाद ‘धेरै सकारात्मक’ रहेको बताए । उनले सम्पर्कको माध्यम वा सम्भावित वार्ताबारे भने थप विवरण दिएन । राष्ट्रपति ट्रम्पले किमको प्रशंसा गर्दै दुई नेताबीचको सम्बन्धले तनाव कम गर्न सहयोग गरेको बताए। “म वास्तवमा यसलाई धेरै सुरक्षित बनाउँदैछु । किम जोङ–उनले मलाई सधैँ निकै सम्मानका साथ व्यवहार गरेको छ । म उहाँलाई बुझ्छु र उहाँले मलाई बुझ्नुहुन्छ”, उनले भने ।
यसअघि आइतबार राति राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामार्फत दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै पेन्टागनलाई अभ्यास फिर्ता लिन आदेश दिएको घोषणा गरेको थियो । उनले अभ्यासलाई ‘अनुचित र शत्रुतापूर्ण’ भन्दै दक्षिण कोरियाले इरानविरुद्धको अमेरिका–इजरायल युद्धमा सहयोग गर्न अस्वीकार गरेको विषयसँग पनि निर्णयलाई जोडेको थियो ।
दक्षिण कोरियामा करिब ३९ हजार अमेरिकी सैनिक रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट दक्षिण कोरियालाई सुरक्षा दिइरहेको अवस्थामा इरानमा अमेरिकालाई सहयोग गर्न नसक्नु आश्चर्यजनक भएको बताए । उनले इरानविरुद्धको सैन्य कारबाहीमा सहयोग नगर्ने दक्षिण कोरिया र नाटोका अन्य सहयोगी मुलुकप्रति पनि अमेरिकी समर्थनमाथि प्रश्न उठाएको छ ।
“हामी वरिपरि गएर यी सबै देशको रक्षा गर्न सक्दैनौँ, विशेष गरी उनीहरू हामीलाई सहयोग गर्न त्यहाँ नहुँदा”, राष्ट्रपति ट्रम्पले भने । दक्षिण कोरियाली अधिकारीहरूले भने निर्धारित कार्यक्रमअनुसार सैन्य अभ्यास सुरु भएको र वासिङ्टनसँगको समन्वय कायम रहेको बताएका छन् । राष्ट्रपति ली जे म्युङको कार्यालयले मङ्गलबार अभ्यासको उद्देश्य उत्तर कोरियामाथि आक्रमण गर्नु वा कोरियाली प्रायद्वीपमा तनाव बढाउनु नभएको स्पष्ट पारेको छ ।
राष्ट्रपति लीले अभ्यासको मूल उद्देश्य कुनै विशेष पक्षलाई शत्रुका रूपमा व्यवहार गर्नु नभई दक्षिण कोरियाली जनताको सुरक्षित र शान्तिपूर्ण दैनिक जीवन सुनिश्चित गर्नु रहेको बताएको उनको कार्यालयले जनाएको छ । उत्तर कोरियाले पछिल्लो अभ्यासबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन । यद्यपि प्योङयाङले दक्षिण कोरिया र अमेरिकाबीच नियमित रूपमा हुने संयुक्त सैन्य अभ्यासलाई लामो समयदेखि आफूविरुद्धको आक्रमणको तयारीका रूपमा आलोचना गर्दै आएको छ ।
एघार दिनसम्म सञ्चालन हुने उल्ची फ्रिडम सिल्ड अभ्यास उत्तर कोरियासँग सम्भावित युद्धका लागि अमेरिकी तथा दक्षिण कोरियाली सेनाको संयुक्त तयारी र क्षमताको परीक्षण गर्न आयोजना गरिएको हो । अमेरिका–दक्षिण कोरिया संयुक्त सेनाको कमान्डका प्रवक्ता कर्नेल रायन डोनाल्डले अभ्यासमा युक्रेनविरुद्धको युद्धमा रुसका पक्षमा तैनाथ उत्तर कोरियाली सेनासँग सम्भावित भिडन्तको अवस्थासमेत अभ्यास गरिने बताएको छ ।
सियोलको राष्ट्रपति कार्यालयले अभ्यासका क्रममा वासिङ्टनसँग ‘घनिष्ठ समन्वय’ भइरहेको जनाएको छ । अमेरिकाले दक्षिण कोरियाको सुरक्षाका लागि करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौतामा नभई युद्धविराममा समाप्त भएपछि दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति निरन्तर रहँदै आएको हो ।
तर राष्ट्रपति ट्रम्पले परम्परागत अमेरिकी गठबन्धन र सहयोगी मुलुकप्रति बारम्बार व्यक्त गर्दै आएको आलोचनाले पूर्वी एसियामा अमेरिकी सुरक्षा प्रतिबद्धतामाथि पुन: प्रश्न उठाएको छ । सैन्य अभ्यास र अमेरिकी सैनिक उपस्थितिमा सम्भावित परिवर्तनले दक्षिण कोरिया मात्र नभई जापानलगायत क्षेत्रका उनय सहयोगी मुलुकमा समेत सुरक्षा चिन्ता बढाउन सक्ने देखिएको छ ।
प्रशान्त क्षेत्रमा सञ्चालित अमेरिकी विमानवाहकमध्ये युएसएस जर्ज वासिङ्टनलाई लामो समयदेखि तैनाथ युएसएस अब्राहम लिङ्कनलाई राहत दिन मध्यपूर्वतर्फ पुन: तैनाथ गरिएको छ । युएसएस लिङ्कनमा मानसिक स्वास्थ्य तथा आपूर्ति व्यवस्थासम्बन्धी समस्याबारे पनि चिन्ता व्यक्त गरिएको छ ।
सैन्य मामिलासम्बन्धी अमेरिकी सिनेटका वरिष्ठ डेमोक्रेट तथा सशस्त्र सेवा समितिका सदस्य ज्याक रिडले अभ्यास घटाउने राष्ट्रपति ट्रम्पको आदेशको आलोचना गर्दै चीन र रुसले अमेरिकी राष्ट्रपतिले आफ्ना सहयोगीलाई कति सहज रूपमा त्याग्न सक्नुहुन्छ भनेर हेरिरहेको बताएको छ । उनले निर्णयलाई ‘मूर्खतापूर्ण र अव्यवस्थित’ भनेको छ ।
यसबीच किमसँग पुन: सम्पर्क स्थापित भएको राष्ट्रपति ट्रम्पको सङ्केतले वासिङ्टन र प्योङयाङबीच सम्भावित वार्ताका लागि नयाँ बाटो खुल्न सक्ने देखिएको छ । यद्यपि किमको सार्वजनिक प्रतिक्रिया नआएकाले दुई देशबीचको संवाद तत्काल वार्ताको तहमा पुग्ने वा नपुग्ने स्पष्ट भइसकेको छैन ।


















