दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ले सरकारसँग वार्ता गर्न ९ सदस्यीय वार्ता टोली गठन गरेको छ। अभियानले २०८३ साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेका विभिन्न नागरिक समस्या तथा मागहरूमाथि वार्ता गरी समाधान गर्न सरकारले औपचारिक कदम चालेको हो।
महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा सरकारसँग वार्ता गर्न टोली गठन गरिएको जानकारी गराइएको छ। विष्णु बोहोरा क्षेत्रीको संयोजकत्वमा राजु आचार्य, विजय थापा, देवी संग्रौला, हरदेव महतो, लोकेन्द्र दनुवार, लाल शाह, ऋतु मण्डल र नरेन्द्र लामासहितको ९ सदस्यीय वार्ता टोली गठन गरिएको छ।
महाअभियानले नागरिकका विभिन्न समस्या तथा माग सम्बोधनका लागि सरकारसमक्ष वार्ता समिति गठन गर्न आग्रह गरेको थियो। त्यसपछि सरकारले पनि महाअभियानसँग संवाद तथा वार्ताका लागि सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिसकेको छ।
सरकार र महाअभियानबीच यसअघि पनि विभिन्न माग तथा मुद्दाका विषयमा छलफल हुँदै आएको थियो। पछिल्लो समय महाअभियानले राजनीतिक, आर्थिक तथा नागरिक सरोकारका विषय उठाउँदै आएको छ। अब दुवै पक्षका वार्ता टोलीबीच औपचारिक संवाद अघि बढ्ने भएको छ।



















