नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार उनलाई अध्यक्षमा नियुक्त गरेकी हुन्।

यसअघि भरतपुर अस्पताल विकास समितिको अध्यक्ष रहेका डा. पौडेलले अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै आएका थिए। उनले सरकारी अस्पतालको क्षमता अभिवृद्धि, स्वास्थ्य सेवा सुधार र चिकित्सा शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस तथा नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गरेका पौडेलले यसअघि नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा समेत काम गरिसकेका छन्।