नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय नगरी पोखरा पुगेर काठमाडौँ फर्किएका छन्। उनी पोखरामा आयोजित विशेष कार्यक्रममा सहभागी हुन श्रीमती कोमल सेठसहित त्यहाँ पुगेका हुन्।

उनले बुधबार बिहान पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण गरे। सो क्रममा उनले त्यहाँ आयोजित भेटघाट कार्यक्रममा सहभागी हुँदै भारतीय भूतपूर्व सैनिकहरूसँग संवाद गरे।
साथै, उनले नेपाल-भारत मैत्री विद्यालयका विद्यार्थीलाई मिठाई वितरण समेत गरे। नेपाली र भारतीय सेनाका १६ जनाको टोलीसहित बिहान ९:३२ बजे पोखरा ओर्लिएका सेठ सिधै पेन्सन क्याम्प पुगेका थिए। त्यहाँ करिब २५ मिनेटसम्म औपचारिक कार्यक्रम सञ्चालन भएको थियो।

पोखरामा करिब दुई घण्टा बिताएपछि उनी बिहान ११:४५ बजे नेपाली सेनाको जहाजमार्फत काठमाडौँ फर्किएका छन्। उनको आजै भारत फर्कने तालिका छ।
गत साउन ३१ गते नेपाल आएका उनले राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्नुका साथै प्रधानमन्त्री बालेन्द्र शाहसहितका उच्चपदस्थ अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए।



















