राजनीतिलाई व्यापार बनाउने प्रवृत्तिले राष्ट्रवादी विचारमाथि अविश्वास बढायो: धवलशमशेर राणा

नवगठित जय नेपाल पार्टीका सभापति डा. धवलशमशेर राणाले राजनीतिलाई व्यापार मान्ने र जनताको एजेन्डालाई सत्ताको भर्‍याङ बनाउने प्रवृत्तिले राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गरिरहेको बताएका छन् ।

बिहीबारदेखि सुरु भएको पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा राजनीतिक कार्यपत्र पेस गर्दै सभापति राणाले यस्तो बताएका हुन् । राणाले एउटा भन्ने तर अर्को गर्ने स्वार्थी एवं आत्मकेन्द्रित प्रवृत्तिका कारण राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको दाबी गरे ।

उनले राष्ट्र र राष्ट्रियताको विहंगम महत्त्व उजागर गर्न तथा नेपालको गौरवमय विरासतलाई निरन्तरता दिन जय नेपाल पार्टीको छातामुनि गोलबद्ध हुनुपर्ने बताए । ‘वस्तुतः राष्ट्रवादको एजेन्डा बचाउन र बढाउन जय नेपाल पार्टीको छातामुनि हामी गोलबद्ध हुनुपर्ने ऐतिहासिक अवसर सिर्जना भएको छ,’ राणाले भने ।

राणाले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रका बलियो जगमा उभिएर देश र जनताका मुद्दा तथा एजेन्डालाई इमानदारीका साथ अघि बढाउनु अपरिहार्य रहेको बताए ।

राष्ट्रियता र एकताको आधार संवर्द्धन गर्दै नेपालको ऐतिहासिक विरासतलाई नयाँ पुस्ता र भावी पुस्तामा सुरक्षित हस्तान्तरण गर्न आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ ।