चामे–बेँसीसहर सडक अवरुद्ध

हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे–बेँसीसहर सडक अवरुद्ध भएको छ । नासोँ गाउँपालिका–३ खोत्रो पाखामा सडक भासिएर उक्त सडक अवरुद्ध भएको हो । सडक भासिदा पूर्ण रुपमा चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।

“वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिराले अवरुद्ध हुने गरेको छ”, उनले भने, “भासिएको सडक खुलाउन उक्त क्षेत्रमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन् ।” मनाङको एक मात्र लाइफलाइन रहेको उक्त सडकमा यात्रा गर्नेहरुले कहिले लमजुङको पहिरो त कहिले मनाङको पहिरोका कारण सास्ती भोग्नु परेको स्थानीय देवेन्द्र गुरुङले बताए। “मनाङी त सधैँ सास्तीमा रहनुपर्ने बाध्यता छ”, उनले भने ।

क्षमताभन्दा धेरै भार भएका गाडीका कारण पनि यो सडक भासिएको हुनसक्ने स्थानीय पासाङ लामाले बताए ।