गणेश नेपालीका परिवारसँग सरकारले गरेको सम्झौता पालना भएन : पदम परियार

नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले गणेश नेपालीको परिवारसँग सरकारले गरेको सम्झौता पालना नभएको बताएका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद परियारले सो कुरा बताएका हुन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको थियो । उनको परिवारसँग नेपाल सरकार र काठमाडौं महानगरपालिकाले असार २८ गते ९ बुँदे सहमति गरेको थियो ।

उक्त सहमतिपछि परिवारले शव बुझ्न सहमति जनाएका थिए । घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गर्ने र सात दिनभित्र प्रतिवेदन पेस गर्न लगाउने सहमति थियो । छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्न प्रक्रिया अघि बढाउने, मृतककी श्रीमतीलाई काठमाडौं महानगरपालिका वा अन्य निकायमार्फत रोजगारी उपलब्ध गराउने भनिएको थियो ।

गणेशकी छोरीको उच्च शिक्षासम्मको पठनपाठनको जिम्मा लिने/व्यवस्था गर्ने र घटनाका दिन फिल्डमा खटिएका महानगर प्रहरीका संकलित कर्मचारीलाई हालका लागि निलम्बन गरी प्रतिवेदनका आधारमा थप कारबाही गर्ने विषय पनि सहमतिमा उल्लेख छ । साथै, पीडित परिवारलाई आर्थिक राहत, स्वास्थ्य बीमा तथा अन्य आवश्यक जीविकोपार्जनमा सहजीकरण गर्ने भनिएको थियो ।

यो सहमति कार्यान्वयन नभएको भन्दै सांसद परियारले राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले भने, ‘९ बुँदे सहमति अनुसार गणेश नेपालीका परियारले दाहसंस्कार गरे । तर सरकारले बाँकी ८ वटा बुँदा अझैसम्म कार्यान्वयन गरेको छैन ।’

उल्टै गणेश नेपालीलाई नै दोषी देखाउने गरी छानबिनको प्रतिवेदन आएको अपुष्ट खबर आएको उनले बताए । यस्तो कार्य छाडेर सहमति अनुसार अगाडि बढ्न र गणेश नेपालीलाई सहिद घोषणा गर्न उनको माग रहेको छ ।