रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते नेपालमा भएको विद्रोहलाई संसारकै सफल ‘विदेशी–जासुसी विद्रोह’ भएको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मिश्रले अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्थाले नेपाली युवाको असन्तोष, आक्रोश र अपेक्षालाई उनीहरूकै जानकारीबिनै प्रयोग गरेको दाबी गरेका छन्।
‘यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका अनि राष्ट्रप्रमुखको निवास जलिसकेको थियो । संसारमा आजसम्म त्यस्तो भएको मलाई थाहा छैन’, मिश्रले लेखेका छन्, ‘त्यसपछिको लक्ष्यमा योजनाकारहरू सफल भए या भएनन्, या उनीहरू अझै आफ्नो मिशनमा छन्, त्यो पनि थाहा छैन ।
तर भविष्यमा कुनैबेला भदौ २३ र २४ को योजनाकार, योजना र कार्यान्वयनका कतिपय गोप्य सूचनाहरू सार्वजनिक भएपछि त्यसबारे हलिउडको कुनै विश्वविख्यात निर्देशकले जासुसी सिनेमा निर्माण गरेको खण्डमा त्यो संसारकै उत्कृष्टमध्येको जासुसी सिनेमा बन्नेछ भन्नेमा म विश्वस्त छु ।’


















