सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत मन्त्री तिमिल्सिनाले पीडितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका हुन्।
उनले यौन हिंसाका घटनामा पीडितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैरकानुनी विषय भएको बताए। विशेषगरी बालबालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उनले समाचार तथा सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताएका छन्।


















