प्रतिनिधिसभा: ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद युवराज दुलालले बालबालिकामाथि हुने यौनहिंसा र हत्याका घटना रोक्न ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्नुपर्ने बताएको छ ।

बैठकको विशेष समयमा उनले पछिल्लो समय बालिकामाथि भएका हिंसा र हत्याका घटनाले सिङ्गो मुलुकलाई भावविह्वल बनाएको बताए । “कोपिलामै चुँडिएका र खुसी लुटिएका घटनाले आज यो सम्मानित सभा र सिङ्गो देश भावविह्वल भएको छ”, सांसद दुलालले भने । उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई कारबाही मात्र गर्नेभन्दा यस्ता घटना हुनै नदिन राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

“घटना घटेपछि कारबाही गरेर दोषीलाई सजाय दिनुभन्दा हाम्रा छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ”, सांसद दुलालले भने । उनले छोरीहरूको सुरक्षाका लागि राजनीतिक, शैक्षिक, स्वास्थ्यलगायत सबै क्षेत्रलाई समेटेर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरे ।

सांसद दुलालले स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खानेपानीमा लगाइएको अनावश्यक शुल्क तथा कर हटाउन सरकारसँग माग गरे । उनले पानीलाई केवल उपभोग्य वस्तुका रूपमा नभई निर्यातयोग्य स्रोतका रूपमा विकास गर्नुपर्ने बताए ।

नेपालमा पानीको प्रशोधन तथा उत्पादन गरी खाडी मुलुकलगायत अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सके ठूलो वैदेशिक आम्दानी गर्न सकिने सांसद दुलालको भनाइ छ । पानी उद्योगलाई प्रोत्साहन गर्दै निर्यातका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था सहज बनाउनुपर्ने उनले बताए । सांसद दुलालले विद्युत्मा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउन नहुने धारणा राखे ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले मनसुनजन्य बाढीपहिरोका कारण ठूलो मात्रामा कृषि भूमि डुबानमा पर्ने गरेको भन्दै बाढी नियन्त्रणका लागि प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । विशेषगरी सुनसरीमा बर्सेनि बाढीका कारण कृषि उत्पादन प्रभावित हुने गरेको उल्लेख गर्दै उनले बाढी नियन्त्रण तथा कृषि क्षेत्रको संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए।

सांसद राईले दुईदिने बिदाको व्यवस्थाले स्वास्थ्य क्षेत्रमा प्रभाव परेको भन्दै यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे । नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न दिँदा कतिपय परिवार घरबारविहीन हुने अवस्था बढेको भन्दै उनले क्यासिनोमा नेपालीको प्रवेश नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरे । उनले खाना पकाउने ग्यासको सहज र नियमित आपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद खुश्वु ओलीले बलात्कारका घटनामा संलग्न दोषीलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताए । उनले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको स्मरण गर्दै यस्ता जघन्य अपराध रोक्न सजायको व्यवस्था प्रभावकारी र कडा हुनुपर्नेमा जोड दिए ।

“हाम्रा छोरीहरू कहिलेसम्म बलात्कारीको हातबाट मारिनुपर्ने हो रु”, सांसद ओलीले प्रश्न गरे । बलात्कारपछि हत्या गरिएकी बालिका चौधरीले तीन वर्षकै उमेरमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले यस्ता अपराधमा संलग्न व्यक्तिले अपराध गर्नुअघि सजायको डर महसुस गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले विद्यमान कानुनको पुनरावलोकन, दण्डहीनताको अन्त्य तथा अपराध नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।