भोटेकोशी बाढीमा भएको क्षतिप्रति जनपक्षीय उद्योग व्यवसायी महासंघद्वारा दुःख व्यक्त

काठमाडौं, भदौ १० — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ तथा आसपासका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति जनपक्षीय उद्योग व्यवसायी महासंघ, नेपालले गहिरो दुःख व्यक्त गरेको छ।

महासंघका अध्यक्ष मदन महर्जनले जारी गरेको प्रेस वक्तव्यमा बाढीका कारण नदी किनारका बस्ती, घर, उद्योग तथा व्यवसायसँगै सडक, पुल, विद्युत् आयोजना, सञ्चार संरचना, सरकारी कार्यालयलगायत भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ। बाढीमा कैयौँ नागरिकको मृत्यु भएको तथा केही अझै सम्पर्कविहीन रहेको घटनाप्रति महासंघले चिन्ता व्यक्त गरेको छ।

महासंघले बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

महासंघले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई सम्पूर्ण संयन्त्र परिचालन गरी खोज तथा उद्धार कार्य तीव्र बनाउन, सम्पर्कविहीन तथा जोखिममा रहेका नागरिकको तत्काल खोजी गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको छ।

त्यस्तै, विस्थापित परिवारलाई सुरक्षित आवास, खाद्यान्न, खानेपानी, लत्ताकपडा तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन तथा अवरुद्ध सडक, पुल, विद्युत् र सञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन महासंघले माग गरेको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यथार्थ र पारदर्शी विवरण तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै महासंघले प्रभावित परिवार तथा क्षतिग्रस्त घर, उद्योग, व्यवसाय, कृषि, पूर्वाधार र उत्पादनमूलक सम्पत्तिको उचित क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

महासंघले बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीका ऋणको ब्याज मिनाहा गर्नुका साथै लगानी तथा व्यवसाय पुनः सञ्चालनका लागि थप स्रोत सहज रूपमा उपलब्ध गराउन पनि माग गरेको छ।

भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न बाढी तथा हिमताल र हिमनदीजन्य जोखिमको वैज्ञानिक अध्ययन, प्रभावकारी पूर्वसूचना प्रणाली तथा दीर्घकालीन विपद् व्यवस्थापन योजना निर्माण गर्नुपर्ने महासंघको भनाइ छ।

महासंघले विपत्तिको यस घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर राज्यका सम्पूर्ण संयन्त्र, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई उद्धार, राहत र पुनर्स्थापनाको अभियानमा एकजुट हुन आह्वान गरेको छ।