काठमाडौं । नेपाल मुद्रण उद्योग महासङ्घले आगामी २०८३ असोज ३ गते अधिवेशन तथा साधारण सभा गर्ने सम्बन्धमा जारी गरेको सूचनाप्रति महासङ्घका सल्लाहकारहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
आज बिज्ञप्ती मार्फत सल्लाहकारहरूले आफुहरुको संयुक्त धारणा सार्वजनिक गर्दै महासङ्घको वर्तमान अवस्था संवेदनशील रहेकाले अधिवेशन तथा साधारण सभा जस्तो महत्वपूर्ण प्रक्रिया अघि बढाउनुअघि पूर्वअध्यक्ष, सल्लाहकार, पूर्वजिम्मेवार पदाधिकारी तथा सम्बन्धित पक्षसँग आवश्यक छलफल र परामर्श गर्नुपर्ने बताएका छन्।
कार्यसमितिका गतिविधि तथा महासङ्घको विधानका प्रावधानहरूको अध्ययन गर्दा केही गम्भीर वैधानिक प्रश्नहरू देखिएको उनीहरूको दाबी छ। यस्तो अवस्थामा औपचारिक छलफल र परामर्शबिना अधिवेशन प्रक्रिया अघि बढाइनु दुःखद र असहज भएको सल्लाहकारहरूको भनाइ छ।
उनीहरूले आफूहरू कुनै निर्णय प्रक्रियामा अवरोध सिर्जना गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै महासङ्घको हितमा हुने निर्णय सामूहिक समझदारी र विधानसम्मत ढङ्गबाट हुनुपर्नेमा जोड दिएका छन्।
महासङ्घ कुनै व्यक्ति वा समूहको मात्र संस्था नभई यसमा योगदान गर्ने सम्पूर्ण सदस्यहरूको साझा संस्था भएकाले यसको भविष्य पनि साझा समझदारी र विश्वासबाट सुरक्षित हुने उनीहरूको धारणा छ।
सल्लाहकारहरूले वर्तमान परिस्थितिलाई थप विवादित बनाउनुको सट्टा सम्बन्धित सबै पक्षले आत्मसमीक्षा गरी विधानसम्मत समाधान खोज्न आग्रह गरेका छन्। साथै, अहिले अघि बढाइएको प्रक्रियाबाट भविष्यमा उत्पन्न हुन सक्ने कुनै पनि परिणाममा आफूहरूको सहमति वा समर्थन नरहेको स्पष्ट पारेका छन्।
संयुक्त धारणा सार्वजनिक गर्ने सल्लाहकारहरूमा माधव के.सी., भरत कुमार श्रेष्ठ, प्रेम कुमार उपाध्याय र कृष्ण अधिकारी रहेका छन्।
सल्लाहकारहरूले महासङ्घलाई संस्थागत रूपमा बलियो, मर्यादित, एकताबद्ध र वैधानिक ढङ्गले अघि बढाउन सबै पक्षबीच संवाद र सहमति आवश्यक रहेको बताएका छन्।


















