जलविद्युत् आयोजना क्षेत्रमा उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ आज भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणमा जाने भएका छन् । स्थलमार्ग हुँदै नुवाकोट पुगेपछि उनले प्रभावित क्षेत्रमा उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनेछन् भने विद्युत् नपुगेका क्षेत्रमा सोलारजस्ता वैकल्पिक ऊर्जाको व्यवस्थाबारे छलफल गर्नेछन् ।

त्यहाँबाट मन्त्री श्रेष्ठ नुवाकोटको बट्टारस्थित क्याम्पबाट हेलिकप्टरमार्फत रसुवा पुग्नेछन् । त्यहाँ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको उद्धार, कठिनाइ र क्षतिको विवरणबारे जानकारी लिने कार्यक्रम छ। फर्किएपछि उनले नेपाली सेनाको एकीकृत उद्धार शिविरको निरीक्षण गर्नुका साथै सुरुङमा फसेका कर्मचारीका परिवारसँग भेट गर्नेछन्।