भरे कुरा गरौँला ।’
गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए । काम सुरु हुन लागेको थियो । यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन् । त्यसको केही समयपछि रसुवाको भोटेकोसीमा भीषण बाढी आयो । बाढीको खबर पाएपछि रविनाले श्रीमान्लाई फोन गरिन् । फोन उठेन । पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । बिहान ‘भरे कुरा गरौँला’ भनेर छुट्टिएको त्यो संवाद नै उनीहरूबीचको अन्तिम बन्न पुग्यो ।
मकवानपुरको भीमफेदी गाउँपालिका– २ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए । एक महिनाको बिदा लिएर घर आएका उनी केही दिनमै कम्पनीले बोलाएको भन्दै ७ भदौमा काममा फर्किएका थिए । सविनकी ठूलीआमा नानीमाया रानाका अनुसार आइतबार घरबाट हिँडेका उनी काठमाडौं बसेर मंगलबार मात्रै रसुवा पुगेका थिए । बुधबारदेखि काम सुरु भएको थियो । ‘घर आउँदा एक महिनाका लागि बिदा लिएर आएको भन्थ्यो । ५/६ दिन हुनेबित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किएको थियो,’ उनले भने, ‘मंगलबार मात्रै रसुवा पुगेको थियो रे । त्यही बाढी आउने दिनबाट काम सुरु भएको थियो रे । एकैछिनमा सबै सकियो ।’
सम्पर्क टुटेपछि परिवार सुरुका दुई दिन कुनै सुखद खबर आउने आशामा बस्यो । त्यसपछि सविनको खोजीमा आफन्त अस्पताल र शव राखिएका स्थानसम्म पुग्न थाले । अन्ततः सोमबार नवलपरासीमा फेला परेको एउटा शवसँग परिवारको खोजी टुङ्गियो । शवको अवस्था बिग्रिएकाले अनुहारबाट पहिचान गर्न कठिन थियो । परिवारका लागि सविनलाई चिनाउने आधार बन्यो उनको बायाँ हातमा रहेको ट्याटु ।
भीमफेदी गाउँपालिका– २ का वडाध्यक्ष काशीराम बज्युले हातमा रहेको ट्याटुका आधारमा परिवारले सविनको शव पहिचान गरेको जानकारी दिए । सविनका बुबा १४–१५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन् । परिवारमा आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीया छोरी छन् ।
सविनको परिवार फोन आउने आशामा बसिरहँदा हेटौँडा उपमहानगरपालिका– ५ ढुङ्गेधारामा अर्को परिवार पनि उस्तै बेचैनीमा थियो । दुई वर्षदेखि चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरु र छोरी निमिसालाई पनि आफूसँगै रसुवा लगेका थिए । छोरीलाई विद्यालय जान सहज होस् भनेर विद्यालयनजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका थिए ।
यही १० भदौको बिहान भोटेकोसीको बाढीका दृश्य सामाजिक सञ्जालमा फैलिन थालेपछि हेटौँडामा रहेका उद्धवका आफन्तले फोन गर्न थाले । उद्धवको फोन लागेन । पत्नी निरुको नम्बरमा पनि सम्पर्क हुन सकेन । केही समयका लागि तीनै जना बेखबर भए । ११ भदौमा हेटौँडा उपमहानगरपालिकाको टोली उनीहरूसहित सम्पर्कविहीन नागरिकको खोजीका लागि रसुवातर्फ निस्कियो ।


















