बाढी–पहिरो प्रभावितको उद्धार र राहतमा जुट्न राष्ट्रिय स्वतन्त्र नागरिक समाजको अपिल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल खोजी, उद्धार तथा राहतमा जुट्न सम्बन्धित निकाय र आम नागरिकसमक्ष अपिल गरेको छ।

समाजले विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्रिशूली नदीको बहाव चितवन, नवलपरासी लगायतका तल्लो तटीय क्षेत्रतर्फ जाने भएकाले नदीमा बेपत्ता नागरिकका शव तथा धनमाल बगेर जान सक्ने अवस्थाप्रति विशेष निगरानी आवश्यक रहेको जनाएको छ।

समाजले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह, स्वयंसेवक तथा नागरिक समाजलाई बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न, नदी तटीय क्षेत्रमा निगरानी बढाउन र फेला परेका शवको पहिचान गरी सम्मानपूर्वक व्यवस्थापन गर्न आग्रह गरेको छ।

त्यस्तै, बाढी तथा पहिरोबाट प्रभावित वास्तविक पीडित तथा क्षतिग्रस्त परिवारको तत्काल पहिचान गरी खाद्यान्न, औषधि, अस्थायी आवास तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहका तीनै तहका सरकारसँग समाजले माग गरेको छ।

राहत वितरणमा राजनीतिक, व्यक्तिगत वा पहुँचका आधारमा कुनै पनि प्रकारको विभेद नगरी वास्तविक पीडितलाई प्राथमिकताका आधारमा राहत उपलब्ध गराउन तथा राहत वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनसमेत समाजले आग्रह गरेको छ।

राष्ट्रिय विपत्तिको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गर्न तथा अत्यधिक प्रभावित क्षेत्रलाई आवश्यकताअनुसार ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरी विशेष उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने समाजको माग छ।

समाजले विपत्तिको यस दुःखद् घडीमा सरकार, सुरक्षा निकाय, नागरिक समाज, सामाजिक संघ–संस्था, निजी क्षेत्र तथा आम नागरिक एकजुट भएर ‘पहिले मानव जीवनको रक्षा, त्यसपछि राहत र पुनःस्थापना’ भन्ने भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ।

समाजले बेपत्ताको खोजी, पीडितको उद्धार र वास्तविक पीडितलाई तत्काल राहत उपलब्ध गराउन सबै पक्षलाई आह्वान गरेको छ।

राष्ट्रिय स्वतन्त्र नागरिक समाज,