जापानी प्रधानमन्त्री र प्रधानमन्त्री बालेनबीच टेलिफोन वार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ । मंगलबार दिउँसो भएको फोन वार्ताका क्रममा जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेकी छन् ।

वार्ताका क्रममा उनले मृतकका परिवार तथा विपद्‌बाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै नेपालमा उत्पन्न कठिन परिस्थितिप्रति जापानको गम्भीर चासो रहेको बताइन् । जापानले पनि भूकम्प तथा ठूलो वर्षाका कारण पटक–पटक प्राकृतिक विपद्को सामना गरिरहेको उल्लेख गर्दै उनले नेपाल र जापान दुवै प्राकृतिक विपद्को उच्च जोखिममा रहेका देश भएको बताइन् ।

उनले नेपालमा सम्पर्कविहीन रहेका पाँच जना जापानी नागरिकको खोजी तथा शीघ्र उद्धारका लागि नेपाल सरकारबाट अधिकतम सहयोग गर्न आग्रह गरिन् । जवाफमा प्रधानमन्त्री शाहले उक्त विषयमा नेपाल सरकारले आफ्नो सम्पूर्ण प्रयास लगाएर काम गरिरहेको बताए ।

जापानले विपद्‍बाट प्रभावित नेपालीहरूलाई सहयोग गर्न टेन्ट, कम्बललगायतका आपत्कालीन राहत सामग्री उपलब्ध गराउने जानकारी पनि प्रधानमन्त्री ताकाइचीले दिएकी छन् । भेटवार्ताबारे जापानी प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट जानकारी दिए पनि प्रधानमन्त्री शाहको सचिवालयले भने केही उल्लेख गरेको छैन ।