बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको छ । विपत्तिमा परी हालसम्म १ हजार १ सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ मानिस अझै बेपत्ता छन् ।

बाढीका कारण हजारौँ परिवार घरबारविहीन भएका छन् । नेपालमा परेको यस दुःखद् घडीप्रति अन्तर्राष्ट्रिय समुदायले ऐक्यवद्धता जनाउने क्रममा कतार सरकारले सान्त्वनास्वरूप राहत सामग्री पठाएको हो । सामग्रीमा बाढीग्रस्त क्षेत्रका नागरिकका लागि आवश्यक पर्ने राहतजन्य वस्तुहरू रहेका छन् । नेपालका लागि कतारी राजदूत मिशाल मोहम्मद अल अन्सारीले सो राहत सामग्री नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको छ । कतार सरकारले नेपालमा परेको यस विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै मानवीय सहायता उपलब्ध गराएको हो ।