भुटानी प्रधानमन्त्रीसँग नेपाली सांसदको आग्रह- जलवायु क्षतिपूर्तिको पहलमा सहयोग होस्

रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने नेपालको पहलमा सहयोग गर्न नेपाली प्रतिनिधिले भुटानका प्रधानमन्त्री ल्योन्चेन दासो छेरिङ तोब्गेसँग आग्रह गरेका छन् ।भुटानमा जारी साउथ एसियन रिजनल पार्लियामेन्टरी फोरमका क्रममा भुटानका प्रधानमन्त्रीसँग नेपाली प्रतिनिधिको भेट भएको थियो ।

उक्त भेटमा रास्वपा सांसदहरू आशिष गजुरेल र अशोक चौधरीले रसुवा बाढीबाट भएको जनधन तथा पूर्वाधारको क्षतिबारे प्रधानमन्त्री तोब्गेलाई जानकारी गराए । भेटका अवसरमा सांसद गजुरेलले जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भएपनि जलवायुजन्य विपद्को गम्भीर असर नेपालले बेहोर्नुपरेको भन्दै सहानुभूतिभन्दा क्षतिपूर्ति र न्यायोचित सहयोग आवश्यक रहेको बताए ।

नेपाल सरकारले रसुवा बाढीबाट भएको क्षति तथा नोक्सानीको क्षतिपूर्ति माग गर्दै ३१ अगस्टमा लस एन्ड ड्यामेज फन्डको बोर्डसमक्ष औपचारिक पत्र पठाइसकेको छ । यसबारे जानकारी गराउँदै जलवायु न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा नेपालको पहलमा सहयोग गर्न भुटानको समर्थन मागेका हुन् ।
प्रधानमन्त्री तोब्गेले नेपालमा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए । जलवायु परिवर्तनमा कम योगदान गर्ने मुलुकहरूले बढी क्षति बेहोर्नुपरेको भन्दै प्रभावित मुलुकलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए ।