तीनवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनको उच्चस्तरीय छलफल

प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि सिर्जित अवस्था, खोज तथा उद्धार, राहत वितरण र घाइतेको उपचारलगायत विषयमा विस्तृत जानकारी लिन र आवश्यक निर्देशन दिन छलफल गरिएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन् ।
त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।