भोटेकोशी बाढी : चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कुल ३६३ वटा शव फेला परेका छन् । तीमध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण र कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको छ ।

हालसम्म फेला परेका शवमध्ये १४ वटा शवको मात्र सनाखत (पहिचान) हुन सकेको छ । पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको एसपी पौडेलले जानकारी दिए । पहिचान खुल्न नसकेका ३४९ वटा शवको सुरक्षित व्यवस्थापन गरिसकिएको उहाँले बताउनुभयो । शव व्यवस्थापन कार्य गत १३ भदौदेखि सुरु गरिएको थियो ।

व्यवस्थापन गरिएका सबै शवको भविष्यमा आफन्तको डिएनएसँग मिलान गर्न मिल्नेगरी डिएनए नमूना सुरक्षित राखिएको छ । हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डिएनए नमूना सङ्कलनलाई प्राथमिकता दिएको छ ।

हालसम्म जिल्लामा ७५ जना आफन्तको डिएनए नमूना सङ्कलन गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । सङ्कलन गरिएका नमुनामध्ये भारतीय नागरिकका आफन्तको डिएनए नमूना पनि रहेको प्रहरीले जनाएको छ ।