राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभाका चार सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको विषयमा विवाद देखिएको छ। प्रदेशसभा सचिवालयमा पठाइएको पत्रमा उक्त निर्णय कानुनी तथा पार्टीको विधानअनुसारको प्रक्रिया पूरा नगरी गरिएको भन्दै त्रुटिपूर्ण रहेको दाबी गरिएको छ। पत्रअनुसार राप्रपाका बागमती प्रदेशसभा सदस्यहरू उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयका आधारमा प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्ने निर्णय गरिएको थियो।

तर उक्त निर्णयविरुद्ध प्रदेशसभा सचिवालयमा बुझाइएको पत्रमा सांसदहरूलाई स्पष्टीकरणको पर्याप्त अवसर नदिइएको, प्राकृतिक न्यायको सिद्धान्तअनुसार प्रक्रिया पूरा नगरिएको तथा पार्टी विधानमा उल्लेखित अनुशासनसम्बन्धी प्रक्रिया पालना नभएको जिकिर गरिएको छ।

पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राप्रपाको विधानका विभिन्न प्रावधान उल्लेख गर्दै सांसदलाई पदमुक्त गर्नुअघि सम्बन्धित दलका सदस्यलाई आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने तर्क गरिएको छ। चारै जना सांसदको पद रिक्त भएको मान्नका लागि कानुनी आधार र कारण नपुगेको दाबी गर्दै पत्रमा उनीहरूलाई प्रदेशसभा सदस्यकै रूपमा कायम राख्न माग गरिएको छ।

यसअघि राप्रपाले पार्टी निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै आफ्ना तीन प्रदेशसभा सदस्यलाई कारबाही गरेको समाचार सार्वजनिक भएको थियो।

797272912_1102896258972293_5550038284490753622_n