विपत्‌मा मानवीय हितका लागि काम गर्न अर्थमन्त्री वाग्लेले नियक्त गरे म्यादी सल्लाहकार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन् । २४ भदौको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो ।

रसुवा बाढीपश्चात् मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उनलाई नियुक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । पराजुलीको संयुक्त राष्ट्र संघ (यूएन) मा लामो र गहन अनुभव रहेको छ । उनको यो अनुभव नेपालमा विपत्‌पश्चात्‌को मानवीय राहत र पुनर्स्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ ।

विशेषगरी विपत्‌ जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री वाग्लेले पराजुलीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको कामना व्यक्त गरे ।